एमाले सबैभन्दा धनी पार्टी

  • 29 जनवरी 2015
तस्वीर कपीराइट nc
Image caption नेपाली काँग्रेसले आफूलाई चन्दा दिने व्यक्ति तथा संस्थाहरुको विवरण सार्वजनिक गरेको छैन

निर्वाचन आयोगमा बुझाइएको आम्दानी तथा खर्च विवरणका आधारमा संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमालेले, पहिलो दल नेपाली काँग्रेसभन्दा पांच गुणा बढी आम्दानी गरेको देखिएको छ।

गत वर्षको साउनदेखि यो असार महिनासम्मको उक्त विवरण अनुसार एमालेपछि एकीकृत माओवादी दोस्रो र सबैभन्दा ठूलो दल नेपाली कांग्रेस तेस्रो स्थानमा छन्।

निर्वाचन आयोगले तोकेको अवधिभित्र त्यस्तो विवरण बुझाउने ३८ दलहरुले न्यूनतम करिब १० हजारदेखि लिएर झण्डै १२ करोड रुपैयांसम्म खर्च भएको उल्लेख गरेका छन्।

उक्त विवरण अनुसार आर्थिक वर्ष २०७०/७१ मा झण्डै साढे १६ करोड ४१ लाख रुपैयां आम्दानी गरेको नेकपा एमालेले खर्चमा पनि अन्य दललाई उछिनेको देखिन्छ।

धनी

एमाले खर्च करिब १२ करोड देखिन्छ जुन एकीकृत माओवादीको भन्दा झण्डै दोब्बर र कांग्रेसको तुलनामा तीन गुणा ज्यादा हो।

एकीकृत माओवादीले साढे ७ करोडभन्दा बढी आम्दानी भएकोमा साढे ४ करोड रुपैयां खर्च भएको देखाएको छ।

कांग्रेसको विवरणमा चाहि तीन करोड १० लाख आम्दानी भएकोमा त्यो भन्दा धेरै, तीन करोड ३८ लाख खर्च भएको उल्लेख गरिएको छ।

प्रमुख तीनैवटा दलले सदस्यता, लेभी तथा नवीकरण शुल्कबाट ठूलो आम्दानी भएको देखाएका छन्।

स्रोत

एमाले र कांग्रेसले व्यक्तिगत तथा संस्थागत रुपमा पनि ठूलो परिमाण चन्दा आएको जनाएका छन् तर चन्दादाताहरुको नाम भने एमालेले मात्रै खुलाएको छ।

एमालेका पेशागत जिल्ला कमिटी र महासंघले सबैभन्दा बढी चन्दा दिएको देखिएको छ भने केही नाम चलेका उद्योगीहरुले पनि चन्दा दिएको विवरणमा उल्लेख छ।

एकीकृत माओवादीले भने प्रतिव्यक्ति ५० हजार रुपैयांभन्दा कम चन्दा प्राप्त भएको भन्दै त्यसको विवरण नै उल्लेख गरेको छैन।

उसले गत वर्षको निर्वाचन खर्च पनि उल्लेख गरेको छैन।

एक जना पनि सभासद् नभएका तथा दुई/तीन जना सभासद् भएका कतिपय दलले एक दर्जनभन्दा बढी सभासद् भएका पार्टीको भन्दा पनि बढी खर्च गरेको पछिल्लो विवरणमा देखिएको छ।

तर पारदर्शिताको वाचा गरेका दलहरुले दिएको पछिल्लो विवरणहरु भने विश्वसनीय नभएको भन्दै कतिपयले उनीहरुको स्रोत नखुलेको आम्दानी र खर्चको हिस्सा झनै ठूलो रहेको टिप्पणी गरेका छन्।

१४ जना सभासद् भएको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले साढे २१ लाख आम्दानी र झण्डै २६ लाख खर्च देखाएको छ जुन खर्च दुई जना सभासद् भएको नेपाल परिवार दल र सभासदविहीन खस समावेशी राष्ट्रिय पार्टीको भन्दा कम हो।