मोर्चाको असहमतिमाझ प्रस्ताव समिति बैठक बस्दै

  • 31 जनवरी 2015
तस्वीर कपीराइट bbc
Image caption विपक्षी मोर्चा माघ ११ को निर्णय नसच्चिदाँसम्म वार्तामा नबस्ने अडानमा छन्

एकीकृत नेकपा माओवादी नेतृत्वको विपक्षी मोर्चाले प्रस्ताव समितिमा नाम नपठाए पनि समितिको बैठक बस्न लागेको संविधानसभा सचिवालयले जनाएको छ।

गत आइतबार विपक्षी मोर्चाको अवरोध र नाराबाजीमाझ सभाध्यक्षले संविधान लेखन प्रकृया अघि बढाउन प्रस्ताव निर्माण समितिको घोषणा गरेका थिए।

तर उक्त समितिको बैठकमा आफूहरु उपस्थित नहुने अडान विपक्षी मोर्चाको कायमै छ।

७३ सदस्यीय उक्त समितिका लागि सत्ताधारी दलहरुका तर्फबाट ४९ जना सदस्यको नाम सार्वजनिक भए पनि अन्यको नाम विपक्षी मोर्चाले बुझाएको छैन।

प्रकृया

मोर्चाले बैठकमा उपस्थित नहुने अडान राखे पनि आज दिउँसो १ बजे बैठक नरोकिने संविधानसभा सचिवालयले जनाएको छ।

सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने, "ज्येष्ठ सदस्यले बैठक संञ्चालन गर्नुहुन्छ, सदनबाट आफ्नो कार्यविधि आफैँले निर्धारण गर्नसक्ने अधिकार भएकोले त्यो विषयमा छलफल हुनसक्ने सम्भावना छ।"

पहिला प्रस्ताव समितिको विरोध गर्दै आएको विपक्षी मोर्चाले बुधबार संविधानसभाका कुनै पनि समितिमा आफ्नो उपस्थिति नरहने औपचारिक घोषणा नै गरेको थियो।

राजनीतिक पार्टीहरुबीच संवादहिनताको पछिल्लो श्रृँखला तोड्न हिजो प्रधानमन्त्रीले एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका थिए।

अडान

उक्त भेटमा पनि प्रचण्डले आफ्नो अडान कायमै राखेको केन्द्रीय सदस्य चुडामणि खड्काले बताए।

उनले भने, "त्यो प्रस्तावविरुद्ध हामी छौं र हामी समितिको बैठकमा आफ्नो तर्फबाट मान्छेहरु पठाउँदैनौं।"

पाँच दिनको समयावधि तोकिएको प्रस्ताव समितिले संविधानका मुख्य विवादित विषयहरु राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणालीमा देखिएका विवादहरुमा प्रश्नावली बनाउने छ।

प्रश्नावलीसहितको उक्त प्रतिवेदन संविधानसभा बैठकमा पेश भएपछि बहुमतबाट पारित भएपछि मस्यौदा समितिमा पठाउनुपर्नेछ।