रंगभेदकालका हत्यारा जमानीमा रिहा गर्ने निर्णय

  • 30 जनवरी 2015
तस्वीर कपीराइट AFP
Image caption दक्षिण अफ्रिकी न्यायमन्त्रीले डे कोकको रिहाइको मिति सार्वजनिक गरेका छैनन्

सन् १९८० देखी सन् १९९० को शुरुताका सम्म अल्पसंख्यक गोराहरुको शासन विरुद्ध लडीरहेका आन्दोलकारीहरुलाई हत्या र अंगभंग गर्ने भूमिकामा सक्रिय रहेकाले उनलाई प्राइम इभिलको उपनाम दिइएको थियो।

उक्त निर्णय देश निर्माणको स्वार्थ अनुसार लिइएको दक्षीण अफ्रिकाका न्यायमन्त्रीले बताए।

६६ बर्षीय डे कोकलाई उनले गरेको अपराधका लागि सन् १९९६ मा दुई आजीवन जेल सजाय र थप २ सय १२ वर्षको कारावास सुनाइएको थियो।

पूर्व कर्णेल रहेका कोक एउटा कुख्यात प्रहरी दलका नाईके रहेका थिए।

जमानी

दक्षिण अफ्रिकाका न्यायमन्त्री माइकल मसुथाले डे कोकको रिहाईको मिति र समय सार्वजनिक नगरिने बताए।

उनले उक्त निर्णय दक्षिण अफ्रिकाको संविधान अनुसार निर्देशित रहेकोमा जोड दिएका छन्।

उनले भने, “वेपत्ता मानिसहरुको खोजी कार्यदललाई, डे कोकले पुर्याएको र पुर्याउँदै आएको सहयोगबाट म सन्तुष्ट छु। साथै प्रभावित परिवारसंग भइआएका विस्तृत परामर्शबाट पनि, म सन्तुष्ट छु।

सन् १९९२ मा डे कोकले हत्या गरेका ग्लिनेक मामाकी विधुवाले जमानीमा रिहा गर्ने मन्त्रीको निर्णय उनलाई ठिकै लागेको बताइन्।

बीबीसीसँग कुरा गर्दै उनले उक्त कदमले दक्षिण अफ्रिकाको इतिहासको एउटा अध्याय बन्द गर्ने र मेलमिलाप प्रकृयालाई सहयोग पुर्याउन सक्ने धारणा राखिन्।

माफी

सन् १९९४ मा दक्षिण अफ्रिकामा भएको पहिलो आमचुनावको एकवर्षपछि स्थापित सत्य निरुपण तथा मेलमिलाप आयोग सामु उनी उपस्थित भएका थिए।

उनले १०० भन्दा बढी हत्या, यातना र ठगीमा आफु संलग्न भएको स्वीकार गर्दै आफ्नो खुफिया दस्ताले गरेका गतिविधिको पूर्ण जिम्वेवारी लिएका थिए।

त्यसक्रममा उनले अफ्रिकन नेश्नल कंग्रेसका कयौँ सदस्यहरुको लेसोथो, स्वाजीलेण्ड, जिम्बाबे र एङ्गोलामा हत्या गरिएको र त्यसको लागि उनी भन्दा उपल्लो तहका अधिकारी जिम्वेवार रहेको बयान दिएका थिए।

जेलमै रहँदा सन् २००७ मा दिएको एउटा अन्तरवार्तामा उनले दक्षिण अफ्रिकाका अन्तिम गोरा शासक एफ डब्लु डे क्लर्कले ती हत्याहरु गर्ने आदेश दिएर आफ्नो हात रगतले रङ्ग्याएको बताएका थिए।

उक्त आरोपको अन्तिम गोरा शासकले खन्डन गरेका थिए।

जेलमा रहदैँ डे कोकले कतिपय पीडितका परिवारलाई सम्पर्क गरी माफी मागेका थिए।