विपक्षीको अनुपस्थितिमै समितिले काम थाल्यो

  • 31 जनवरी 2015
तस्वीर कपीराइट bbc
Image caption विपक्षी मोर्चाको विरोधमाझ अघिल्लो साता सभाध्यक्ष सुवास नेम्वाङले प्रस्ताव समिति गठन गरेका थिए।

शनिबार पहिलोपटक बसेको प्रस्ताव निर्माण समितिको बैठकले कार्यविधि तय गर्न ७ सदस्यीय उपसमिति गठन गरेको छ।

एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाको उपस्थिति विना नै बसेको समितिको बैठकले कार्यविधि तय गर्न उपसमितिलाई आइतवार दिउँसोसम्मका लागि समय दिएको छ।

आफ्नो अनुपस्थितिमै बसेको समितिको बैठकबारे मोर्चाको औपचारिक धारणा आईतबार सार्वजनिक हुने बताइएको छ।

गत आईतबार सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभामा विपक्षी मोर्चाको विरोध र नाराबाजीबीच नै उक्त समिति गठन गरेका थिए।

प्रकृया

संविधानका विवादित विषयमा सहमति जुट्न नसकेपछि दुइ तिहाईको प्रकृया खोल्ने भनिएको उक्त समितिको पहिलो बैठक शनिबार दिउँसो समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङको सभापतित्वमा बसेको थियो।

पाँच दिनको समयावधी पाएको उक्त समितिले कार्यविधि तय गर्न नेपाली कांग्रेसका सभासद् रमेश लेखकको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको छ।

उक्त समितिले भोलिसम्म कार्यविधि बुझाउने संयोजक लेखकले बताए।

उनले भने, "प्रस्ताव निमार्ण गर्ने सन्दर्भमा हामी के के कुरालाई आधार बनाउँछौं, कसरी हामी असहमतिका अन्तर्वस्तुलाइ पहिचान गर्छौं र कसरी बैठकलाई व्यवस्थित गरेर प्रस्ताव निर्माण गर्ने काम गर्छौं भन्ने नै यसको मुल जिम्मेवारी भएको हुनाले हामी यसको कार्यविधि बनाएर भोलिको बैठकबाट पारित गर्न

सक्छौं।"

७३ सदस्यीय समितिमा सत्ताधारी दलहरुको तर्फबाट ४९ जना सदस्यहरुको नाम दिइएको भए पनि विपक्षी मोर्चाले भने नामावली दिएको छैन।

असन्तुष्टी

माघ ११ को सभाध्यक्षको प्रस्ताव समिति बनाउने निर्णय नसच्चिँदासम्म आफ्नो पार्टी सत्ताधारी दलहरुसँग वार्ता पनि नगर्ने र संविधानसभा र संसदका कुनै पनि बैठकहरुमा उपस्थित नहुने औपचारिक घोषणा विपक्षी मोर्चाले गरेको थियो।

तर उसको यस्ता अडानमाझ समितिको बैठकले आफ्नो काम शुरु गरेको छ। यसबारे मोर्चाले आईतबारको बैठकबाट आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ।

मोर्चा नेतृत्व गरेको एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले भने, "हाम्रो ३० दलले घोषणा गरेको कार्यक्रमहरुलाई सशक्त रुपमा लिएर जाने भन्दै आएका छौं, अबको धारणा के भनेर हामी गम्भीर छलफल गर्छौं।"

सभाध्यक्ष सुवास नेम्वाङ्गले गत आईतबार समिति गठन गरेपछि पहिलो बैठक बस्नु अघि सहमति हुने आशा व्यक्त गरेका थिए।

तर वितेको साता संवादहिनतामै वितेपछि संविधान निर्माणको कार्य थप जटिल बन्दै गएको देखिन्छ।