'सर्वीया र क्रोएशियाबाट आम नरसंहार भएको छैन'

  • 3 फेब्रुअरी 2015
तस्वीर कपीराइट AP
Image caption क्रोएशियाली स्वतन्त्रता युद्धमा झन्डै २० हजार मानिसहरुको ज्यान गएको थियो।

द हेग स्थित अन्तर्राष्ट्रिय फौजदारी न्यायालयले, सन् १९९० को दशकमा भएको क्रोएशियाली स्वतन्त्रता युद्धका बेला सर्वीया र क्रोएशिया दुवैले आमनरसंहार नगरेको फैसला सुनाएको छ।

न्यायाधिशहरुले भनेका छन्, दुवै पक्षबाट अपराधहरु भएका भएतापनि, अदालतमा दायर गरिएको एक अर्का विरुद्धको आमनरसंहारको मुद्दामा दुवैले ठोस प्रमाण प्रस्तुत गर्न सकेनन्।

क्रोएशियाका प्रधानमन्त्री जोरान मिलानोभिचले आफू उक्त फैसलाबाट सन्तुष्ट नभएको तर आफूले त्यसलाई स्वीकार गर्ने बताएका छन्।

सर्वीयाका राष्ट्रपति टोमिस्लाभ निकोलीचले चाहिं पत्रकारहरुसंग कुरा गर्दै अब त्यस क्षेत्रमा दीगो शान्ति आउन सक्ने आफूले आशा गरेको बताएका छन्।

निष्काशन

हालैका वर्षहरुमा ति दुई भूतपूर्व युगोस्लाभ छिमेकीहरुबीचको सम्बन्धमा ठूलो सुधार आएको देखिएको छ।

यो महत्वपूर्ण फैसला पछि पन्ध्र बर्ष भन्दा अघि क्रोएशियाले सर्वीया विरुद्ध दायर गरेको कानूनी प्रकृयाको अन्त्य भएको छ।

क्रोएशिया सरकारले भुकोभार नगर र वरपर सर्वीयाले सन् १९९१ मा आमनरसंहार गरेको अभियोग लगाएको थियो।

सर्वीयाले पनि सन् २०१० मा क्रोएशिया विरुद्ध, दुईलाख भन्दा बढी सर्वहरुलाई क्रोएशियाबाट निष्काशन गरेको भनी अभियोग दायर गरेको थियो।

सन् १९९१ देखि ९५ सम्म चलेको युद्धका क्रममा बीसहजार भन्दा बढी मानिसहरु मारिएका थिए। ति मध्ये धेरै क्रोएटहरु थिए।

बाध्य

सन् १९९१ मा क्रोएशियाली नगर भुकोभारलाई तीन महिनासम्म सर्वहरुले कब्जामा लिंदा त्यो तहसनहस भएको थियो।

दशौं हजार जातिय क्रोएटहरु विस्थापीत भएका थिए भने २६० जना क्रोएट पुरुषहरुलाई बन्दी बनाएर मारिएको थियो।

त्यसको चार बर्षपछि , क्रोएशियाली सेनाको एउटा कार्वाहीका क्रममा जातीय सर्वहरुको बाहुल्य रहेको क्राजीना क्षेत्रमा गरिएको बम हमलापछि दुई लाख मानिसहरु आआफ्ना घर छाडी अन्यत्र जान बाध्य भएका थिए।

बेलग्रेडमा रहेका बीबीसी सम्बाददाता गाए डीलअनी भन्छन्, अन्तर्राष्ट्रिय फौजदारी अदालतले, धेरै मानिसहरुले अपेक्षा गरे अनुसारकै फैसला सुनाएको छ।

यो समग्र प्रकरणमा स्पष्ट हुन नसकेको विषय भनेको, सर्वीया र क्रोएशियाले एक अर्का विरुद्ध दायर गरेका ति मुद्दाहरु यति लामो समयसम्म किन जारी रह्यो भन्ने नै हो।