नेपालसामु विकास लक्ष्य हासिल गर्ने चुनौती

  • 3 फेब्रुअरी 2015
नेपाली बालबालिका तस्वीर कपीराइट Other
Image caption नेपालमा प्राथमिक विद्यालयमा भर्ना हुने सबैले त्यो तह पार गरेको सुनिश्चित गर्न सन् २०२० सम्म कुर्नु पर्ने अध्ययनको निश्कर्ष छ

सन् २०१५ भित्र सहस्राब्दी विकास लक्ष्य अन्तर्गत पुरा हुनुपर्ने सरसफाई, स्वास्थ र शिक्षा सम्बन्धी केही महत्वपूर्ण उपलब्धीहरु हासिल गर्न अझै दशकौं लाग्न सक्ने उसको प्रक्षेपण छ।

ब्रिटेनस्थित एक प्रतिष्ठित संस्था ओभरसिज डेभलपमेन्ट इन्स्टिच्युट ओडीआईका अनुसन्धानकर्ताहरुले तीन वर्ष लगाएर केही अफ्रिकी देश तथा नेपालमा गरेको अनुसन्धानको प्रतिवेदनमा गरिब समुदायमा सेवा पुर्याउने काममा उत्पन्न समस्या उल्लेख गरिएका छन्।

नेपालको हकमा उसको अनुसन्धानले के देखाएको छ भने यहाँका शहरी क्षेत्रमा सरसफाईका पूर्ण सुविधा पुर्याउन अझै साढे तीन दशक लाग्न सक्छ।

त्यस्तै सबै शिशुको जन्म स्वास्थ विज्ञको उपस्थितिमा हुने तारतम्य मिलाउन अनि प्राथमिक विद्यालयमा भर्ना हुने सबैले त्यो तह पार गरेको सुनिश्चित गर्न सन् २०२० सम्म कुर्नु पर्नेछ।

चुनौती

खासगरी विदेशी सहयोगको परिचालन अनि विकासको कार्यान्वयन शैलीमा आमूल परिवर्तन नगरे नेपालीहरुले यी आधारभूत सेवा प्राप्त गर्न लामो समय लाग्ने ओडीआईका अनुसन्धानकर्ताले बताएका छन्।

एकजना अनुसन्धानकर्ता लेनी वाइल्ड भन्छिन्, “हाम्रो शोधले के देखाएको छ भने यी प्रगति देशको उच्च आर्थिक वृद्धि वा धेरै वैदेशिक सहायता आदिमा भर पर्दैनन्।”

“बरु ती देशमा स्थापित पद्धतिहरुले कसरी काम गरेका छन्, राजनीति कस्तो छ अनि मानिसहरुले गर्ने व्यवहारलाई के ले प्रोत्साहित गर्छ भन्नेमा बढी भर पर्छ।”

नेपालजस्तो देशका निम्ति अन्तर्राष्ट्रिय सहयोगले मात्र पूर्ण समाधान नदिने उक्त अनुसन्धानले देखाएको छ।

'सहजीकरण'

अनुसन्धानकर्ता वाइल्डले भनिन्, “सामान्यतया दातृ सहयोगका परियोजनाहरु एक निर्दिष्ट शैली र निर्दिष्ट लक्ष्य पछ्याउने हिसाबले सञ्चालन हुन्छन्।”

“जबकि यी विषय त दोस्रा प्राथमिकताका विषय हुन्। मूल कुरा त मानिसहरुलाई उनीहरुको समस्या उनीहरुले नै समाधान गर्नमा सहजीकरण गर्नु हो।”

सन् २०१५ सम्म पूरा गर्नु पर्ने सहस्राब्दी विकास लक्ष्यलाई अब दिगो विकास लक्ष्यहरुले प्रतिस्थापन गर्नुपर्ने अन्तर्राष्ट्रिय बहस चलिरहेको छ।

कतिपय विश्लेषकहरुले पछिल्लो प्रतिवेदनले दिएका निष्कर्षहरुले आगामी दिनमा अधुरा उपलब्धीहरुलाई पूर्णता दिन सघाउन सक्ने बताएका छ्न्।