अमेरिकी प्रतिबन्ध सार्वभौमिकताविरुद्ध: भेनेजुएला

  • 3 फेब्रुअरी 2015
तस्वीर कपीराइट AFP
Image caption भेनेजुएलामा ४३ जना मारिएको महिनौं लामो प्रदर्शनमा सरकारले दमन गरेको अमेरिकी आरोप छ

आफ्ना अधिकारीहरुविरुद्ध संयुक्त राज्य अमेरिकाले प्रवेशाज्ञामा लगाएको प्रतिबन्धप्रति भेनेजुएलाले आपत्ति जनाएको छ।

मानवअधिकार उल्लंघनको घटना र भ्रष्टाचारमा संलग्न रहेकोमा आरोपितहरुको प्रवेशाज्ञामा प्रतिबन्ध लगाएको घोषणा गरे लगत्तै राष्ट्रपति निकोलस मडुरोले त्यसप्रति क्रुद्ध प्रतिक्रिया दिएका हुन्।

अमेरिकाले ती अधिकारीहरुको नाम भने खुलाएको छैन्।

राष्ट्रपति बराक ओबामाले गत डिसेम्बरमा हस्ताक्षर गरेको विधेयकमा आधारित भई अमेरिका जान नदिईने अधिकारीहरुको सूची बढाईएको र अहिले त्यसमा उनीहरुका परिवारका सदस्यहरुको नाम थपिएको छ।

सन्देश

अमेरिकाको पछिल्लो कदम गत वर्ष भेनेजुएलाका अधिकारीहरुमाथि लगाईएको प्रतिबन्धको विस्तार हो।

पछिल्लो प्रतिबन्ध गत वर्ष भेनेजुएलामा भएको सरकारविरोधी महिनौं लामो प्रदर्शनमा भएको भनिएको दमन लक्षित छ, जसमा ४३ जना मारिएका थिए।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता जेन साकिले भनिन्, “हामीले मानवअधिकार उल्लंघनकर्ता र भ्रष्टाचारी तथा उनीहरुका परिवारलाई अमेरिकामा स्वागत गरिन्न भन्ने प्रष्ट सन्देश पठाइरहेका छौं।”

भेनेजुएलाका राष्ट्रपति मडुरोले त्यसप्रति आक्रोशपूर्ण प्रतिकृया जनाएका छन्।

तस्वीर कपीराइट AP
Image caption उपराष्ट्रपति बाइडेन (बाँया) र राष्ट्रपति मडुरो (दायाँ) ले ब्रजिलमा अनपेक्षित रुपमा हात मिलाएका थिए

अमेरिकाको उक्त कदमलाई आफ्नो देशको सार्वभौमिकता उलंघनको प्रयास भन्दै उनले अमेरिकी राष्ट्रपति बराक ओबामालाई पत्र लेख्ने बताए।

आरोप-प्रत्यारोप

राष्ट्रपति मडुरोले अमेरिकी उपराष्ट्रपति जो बाइडेनमाथि आफ्नो समाजवादी सरकारविरुद्ध ‘कु’ गर्ने षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएको एक दिनपछि नयाँ प्रतिबन्ध घोषणा गरिएको छ।

त्यस्तो षड्यन्त्र वासिङ्गटनस्थित क्यारेबियन नेताहरुको ऊर्जा सम्मेलनका क्रममा गरिएको राष्ट्रपति मडुरोको आरोप थियो।

तर उपराष्ट्रपति बाइडेनको कार्यालयले ‘आधारहीन र पूर्णतया झुठो’ भएको भन्दै आरोपको प्रतिवाद गरेको छ।

उसको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति मडुरोका आरोपहरु वाक स्वतन्त्रता, भेला हुने अधिकार र उचित प्रक्रिया हनन् भइरहने भेनेजुएलाको वर्तमान स्थितिबाट ध्यान मोड्ने एउटा प्रयास हो भन्ने कुरा स्पष्ट छ।”

भेनेजुएलाका राष्ट्रपति मडुरो र अमेरिकी उपराष्ट्रपति बाइडेनले हालै ब्रजिलमा अनपेक्षित रुपमा हात मिलाएका थिए।

खै नयाँ युग?

आइतबार राति टेलिभिजन संबोधनमा राष्ट्रपति मडुरेले भने, “उपराष्ट्रपति बाइडेन, मलाई आँखामा हेर्नुस, मैले तपाईंलाई ब्रजिलमा देखेको थिएँ र हात बढाएको थिएँ।”

उनले भने, “तपाईं, जसले ल्याटिन अमेरिकी सम्बन्धका लागि यो एउटा नयाँ युग भन्नुभएको थियो, आज भेनेजुएला विरुद्ध षडयन्त्र गर्दै हुनुहुन्छ।”

दुईदेशबीचको सम्बन्ध वर्षौंदेखि तिक्ततापूर्ण छ।

बीबीसीका एकजना संवाददाताका अनुसार अमेरिकाको पछिल्लो निर्णयले दुई देशबीचको सम्बन्धलाई थप तनावको बाटोमा लग्न सक्छ।