‘सहमतिबाट संविधान बन्ने ग्यारेन्टी भए वार्ता’

  • 4 फेब्रुअरी 2015
तस्वीर कपीराइट bbc
Image caption प्रधानमन्त्री सुशील कोइरालाले सशर्त वार्तामा बस्न नसकिने बताएका छन्

आफूहरु वार्ताका लागि तयार रहेको भन्दै प्रमुख विपक्षी एकीकृत नेकपा माओवादीका एक नेताले त्यसका लागि प्रधानमन्त्रीले विगतमा गरिएका सहमतिकै आधारमा संविधान जारी गर्ने गरी आह्वान गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाले शुरु गरेको प्रक्रिया रोक्न आफूले नसक्ने बताएपछि एमाओवादी नेताको त्यस्तो भनाई आएको हो।

आफ्ना माग पूरा नभए पुर्वनिर्धारित आन्दोलनकै बाटो अपनाउन आफूहरु बाध्य हुने उनले बताए।

संविधानसभा प्रक्रियामा बढेको दिनदेखि सत्तापक्षीय र विपक्षी दलहरुबीच टुटेको संवादहीनताको अवस्था जारी छ।

जिम्मेवारी

संवादका लागि संविधानसभामा जारी प्रक्रिया रोक्नुपर्ने अडान विपक्षी मोर्चाले राख्दै आएको छ।

सत्ताधारी दलहरुको तर्फबाट वार्ताको जिम्मेवारी पाएका प्रधानमन्त्रीले आफूले प्रकिया रोक्न नसक्ने बताईरहेका बेला विपक्षी मोर्चाको नेतृत्व गरिरहेको एकीकृत माओवादीका सचिव वर्षमान पुनले बीबीसीसँग कुरा गर्दै प्रक्रिया रोक्न नसक्ने अवस्था भए सहमतिबाटै संविधान जारी गर्ने सुनिश्चिता गरे आफूहरु वार्ताका लागि तयार भएको बताए।

उनले भने, “त्यो प्रक्रियालाई अलिकति लम्ब्याएर, सके स्थगित गर्ने नभए सहमतिबाट संविधान बन्ने ग्यारेन्टी दिनुभयो भने हामी वार्ताका लागि तयार छौं।”

एमाओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री सुशिल कोइरालकाबीचको भेटघाटमा यो विषयमा कुरा भएपनि प्रधानमन्त्रीले त्यसतर्फ चासो नदेखाएको उनको भनाई छ।

वातावरण

उनले भने, “समितिलाई विगठन या स्थगन गर्न नसक्ने हो भने प्रधानमन्त्रीको हैसियतले एउटा वक्तव्य दिनुहोस्, वार्ताका लागि अपिल गर्नुहोस्, सहमतिका लागि वातावरण बनाउनुहोस् भन्नुभएको थियो, त्यो विकल्प पनि छ, तर खोई प्रधानमन्त्रीले चाहनुभएको जस्तो लाग्दैन।”

वार्ताको वातावरण बनाउने जिम्मा सत्तारुढ दलहरुकै रहेको भन्दै उनले सहमति गरेर जाने सुनिश्चित्ता नभए वार्ताले निश्कर्ष दिन नसक्ने र त्यो केवल आफुहरुको आन्दोलनलाई मत्थर पार्न मात्र लक्षित हुने उनको भनाई छ।

संविधानसभाले एकलौटी प्रक्रिया अपनाएको भन्दै प्रक्रिया बहिष्कार गरेर हिडेका विपक्षी मोर्चाले बुधबारदेखि शुरु हुने गरी आन्दोलनको कार्यतालिका बनाएका छन्।