आइएसबिरुद्ध कठोर लडाइ गर्ने जोर्डनको घोषणा

  • 5 फेब्रुअरी 2015
जोर्डनमा आइएस बिरुद्ध प्रदर्शन तस्वीर कपीराइट Reuters
Image caption पाइलटको हत्यापछि क्रुद्ध जोर्डनले इस्लामिक स्टेट विद्रोहीबिरुद्ध उनीहरुको भूमिमा कठोर भएर उत्रिने बताएको छ

इस्लामिक स्टेट विद्रोही संगठनबिरुद्धको बम हमलामा संलग्न जोर्डनी एअरफोर्सका पाइलट मुअथ अल-कासेसबहको हत्या भएपछि जोर्डनका राजा र उच्च अधिकारीहरुबाट क्रुध्द प्रतिक्रिया आएको हो।

राजा अब्दुल्लाहले ती पाइलटको रगत त्यसै खेर नजाने बताए।

तर आइएसबिरुद्धको लडाइ निकै चुनौतिपुर्ण हुने विश्लेषकहरु बताउँछन्।

मुअथ अल-कासेसबहको हत्या भएपछि बढेको जोर्डनी जन-आक्रोशकामाझ जोर्डनका राजा र अन्य उच्च अधिकारिहरुले अब जोर्डन इस्लामिक स्टेट सक्रिय रहेको भूमिका कठोर कारवाहीमा उत्रिने घोषणा गरेका हुन्।

‘रणनीति’

जोर्डनी सञ्चार मन्त्री मोहम्मद अल मोमानीले सम्बाददाताहरुलाई भने, “अब हाम्रो देशको सेना र सुरक्षा निकायहरुले नयाँ चुनौतिको सामना गर्न नयाँ रणनीति बनाउनेछन्। जोर्डको प्रतिक्रियालाई सारा विश्वले सुन्नेछ।”

“हाम्रो प्रतिक्रिया कठोर निर्णायक र धर्ती नै हल्लाउने खाल्को हुनेछ।”

तर बीबीसीका सुरक्षा संबाददाता फ्रान्क गार्डनर भन्छन् जोर्डनी पाइलटको हत्या गरिएको विभत्स दृश्यहरुपछाडी अर्को दृश्य त्यतिकै टडकारो भएको छ।

त्यो के हो भने अमेरिकी नेतृत्वको गठबन्धन ती पाइलटलाई मुक्त गर्न पुरै विफल बने।

उनी भन्छन्, “आफूसँग अरबौं डलरका गोप्य सुचना संकलन गर्ने निकाय अन्तरिक्षमा भू-उपग्रह र उच्चकोटीको तालिमप्राप्त सुरक्षा कारवाही टोलीहरु भएर पनि वासिङ्टन आइएस सक्रिय भएका क्षेत्रमा बन्धक मुक्त गर्ने काम अघि बढाउन विफल भयो।”

विफल

गार्डनर लेख्छन् उत्तरी सिरियाको रक्कामा आइएसको मुख्य अखडा रहेको बारे सबै लाई थाह छ र उनीहरुले अरुलाई पनि बन्धक बनाएका छन्।

“अब उनीहरुको खोजी र मुक्तीको निम्ति कदमहरु चालिन सक्छन् तर यस अघिका अमेरिकी कदमहरु सफल भएका थिएनन्।”

जोर्डनले भने आफ्ना पाइलटको हत्याप्रतिको प्रतिक्रिया अत्यन्त स्पष्ट हुने बताएको छ।

उस्ले आफ्नो सेना र सुरक्षा निकायहरुले नयाँ चुनौतिको सामना गर्न नयाँ रणनीति बनाउने बताउदै जोर्डनको प्रतिक्रियालाई सारा विश्वले सुन्ने बताएको छ।

त्यसअघि जोर्डनले हत्याको प्रतिक्रिया स्वरुप थुनामा रहेका दुई जिहादीलाई मृत्युदण्ड दिएको थियो।

ती मध्ये एकजना इस्लामिक स्टेटले रिहाइको माग गरिरहेको साजिदा अल रिशावी थिइन्।