डेढ वर्षभित्र समस्या हट्छ : नेपाल टेलिकम

  • 6 फेब्रुअरी 2015
Image caption फोनमा कुरा गर्दा समस्या भोग्नुपरेको उपभोक्ताको गुनासो छ

नेपाल दुरसंचार कम्पनी लिमिटेड अर्थात नेपाल टेलिकमले उर्जा अभावका कारण गुणस्तरीय सेवा दिन नसकेको बताउदै आगामी डेढ वर्षभित्रमा समस्याहरु समाधान गरिसक्ने जनाएको छ।

हाल टेलिकमसँग बढी उर्जा खपत गर्ने उपकरणहरु भएको र त्यसलाई डेढ वर्षभित्र कम उर्जाले चल्ने उपकरणले विस्थापित गरीसक्ने हुनाले सेवाको गुणस्तर बढ्ने एकजना उच्च अधिकारीले बताएका छन्।

विश्वास

नेपालमा टेलिफोन प्रयोगको इतिहास झण्डै सय वर्षको छ।

अहिले, मुख्य गरी सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको ग्राहकको संख्या एक करोड १७ लाख भन्दा बढी पुगिसकेको छ।

तर फोन गर्दा सम्पर्क नहुने, आवाज नसुनिने, इन्टरनेट नचल्ने लगायतका समस्या बढेको उपभोक्ताहरुको गुनासो छ।

देशमा विद्यमान उर्जा संकट नै यस्तो हुनुको मुख्य कारण रहेको टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए।

तर यस्तो समस्याको समाधान डेढ वर्षभित्रै हुने उनको भनाई छ।

उनले भने, “कम उर्जाले चल्ने उपकरणहरु अर्को डेढ वर्षभित्रमा प्रयोग गरीसक्छौं। सुधार हुँदै जान्छ र फोनमा कुरा गर्दा हुने समस्या डेढ वर्षमा हट्ने विश्वास छ।”

राम्रो

तर देशमा उर्जा संकट भएको थाहा हुँदा हुँदै पनि, पहिले नै किन धेरै उर्जा खपत गर्ने उपकरण किनियो भनेर कतिपयले प्रश्न उठाउदै आएका छन्।

निजी सेवा प्रदायकहरुको तुलनामा गुणस्तर कमजोर भएको गुनासोहरुबारे प्रबन्ध निर्देशक आचार्य भन्छन् – सरकारी निकायमा धेरै प्रक्रिया पुर्याउनु पर्ने हुँदा छिटो काम गर्न नसकिएकोले पनि गुणस्तरमा फरक देखिएको हो।

“निश्चित विधि प्रक्रिया पुर्याउनु पर्ने हुँदा त्यसले पनि हामीलाई अलि बढि समय लाग्छ। निजी क्षेत्रमा जस्तो तुरुन्तै केही गरिहाल्न पनि सम्भावना कम हुन्छ। बाधक चाँहि सार्वजनिक खरीद ऐन हो। यि कुरालाई सहजीकरण गर्न सकियो भने नेपाल टेलिकमको गुणस्तर निजी स्तरको भन्दा राम्रो हुन्छ,” आचार्यले भने।

नेपालमा विक्रम संवत १९७२ देखि राणा तथा राज परिवारहरुले टेलिफोनको प्रयोग सुरु गरे पनि १९९२ सालदेखि मात्रै सार्वजनिक प्रयोगमा ल्याउन सुरु गरिएको हो।

विभिन्न समयमा विभिन्न नाम दिइएको सरकारी स्वामित्वको दुरसंचार सेवामा व्यवस्थापकीय सुधार नगर्ने हो भने गुणस्तरमा सुधार आउन कठिन हुने जानकारहरु बताउछन्।