पूर्वी युक्रेनको संघर्षबारे वार्ता हुँदै

  • 6 फेब्रुअरी 2015
तस्वीर कपीराइट AP
Image caption गत सेप्टेम्बरमा युद्धविराम भए पनि पूर्वी युक्रेनमा संघर्ष जारी छ

जर्मन चान्सलर एंगेला मर्केलले भनेकी छिन्, उनी र फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलाण्डले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग भेटेर पूर्वी युक्रेनमा जारी रक्तपात रोक्न सकेसम्मको प्रयास गर्नेछन्।

तर उक्त भेटघाटबाट कुनै ठोस परिणाम आउनसक्ने भने निश्चित नभएको उनको भनाई छ।

फ्रान्सका राष्ट्रपति ओलाण्ड र जर्मन चान्सलर मर्केलले मस्कोमा राष्ट्रपति पुटिनसंग पूर्वी युक्रेनमा चर्कंदो संघर्षका बारेमा वार्ता गर्दैछन्।

ती दुई नेताले कियभमा तयार पारिएको एक शान्ति प्रस्तावलाई मस्को लैजाँदैछन् तर त्यसको विवरणहरु भने सार्वजनिक गरिएको छैन।

अनिश्चय

त्यसतर्फ जानुअघि बोल्दै राष्ट्रपति ओलाण्डले आफूहरुको उद्देश्य युद्धविराम मात्र नभइ एक विस्तृत प्रकृतिको सम्झौता हासिल गर्नु रहेको बताएका छन्।

चान्सलर मर्केलले त्यस्तो खाले सहमति हासिल हुन सक्ने हो या होइन भन्ने विषयमा कुनै निश्चितता नभएको बताएकी छन्।

कियभस्थित बीबीसी संवाददाता डेभिड स्टर्न भन्छन्, “पूर्वी युक्रेनमा जारी संघर्ष रोक्ने यो नै अन्तिम कुटनीतिक प्रयास नहुन पनि सक्छ तर अवसरको ढोका छिटै बन्द हुन लागेको आभास व्याप्त छ।"

मस्को तर्फको यात्रामा रहेकी जर्मन चान्सलर एंगेला मर्केलले प्रगतिको कुनै सम्भावना नदेखिएको भए आफू राष्ट्रपति पुटिनसंग भेट गर्न नै नजाने बताएको सन्दर्भमा, यो पछिल्लो कुटनीतिक प्रयासलाई सकारात्मक रुपमा हेरिएको छ।

जोड

चान्सलर मर्केलले आफूले अर्को कुनै देशसंग युक्रेनको सिमानासंग सम्बन्धित विषयमा कहिल्यै मोलमोलाइ नगर्नेमा पनि जोड दिएकी छन्।

यसअघि आएका विवरणहरुमा, फ्रान्स र जर्मनीले अघि सार्ने शान्ति योजनामा रुसी समर्थनप्राप्त विद्रोहीहरुलाई थप भूभाग छाड्ने विषय पनि समेटिएको जनाइएको थियो।

यसैबीच, रुस समर्थित विद्रोहीहरुको भिषण आक्रमणमा रहेको युक्रेनी नगर डेबाल्टसेभका बासिन्दालाई अन्यत्र सार्नका लागि त्यहाँ अस्थायी संघर्ष विरामको घोषणा गरिएको छ।