द्वन्द्व रोक्न पश्चिमा नेताको नयाँ प्रस्ताव

  • 6 फेब्रुअरी 2015
तस्वीर कपीराइट
Image caption पश्चिमा नेताहरुले नयाँ प्रस्तावबारे रुससँग शुक्रवार वार्ता गर्ने कार्यक्रम छ

पूर्वी युक्रेनमा चर्किंदो लडाईंका माझ त्यहाँको सरकारी फौज र रुस समर्थित विद्रोहीहरुबीचको द्वन्द्व अन्त्य गर्न पश्चिमा देशका नेताहरुले नयाँ प्रस्ताव अघि सारेका छन्।

जर्मन चान्सलर एंगेला मर्केल र फ्राँन्सका राष्ट्रपति फ्रास्वाँ ओलाँदले उक्त प्रस्ताव तयार गरेका हुन्।

युक्रेनी राष्ट्रपति पेत्रो पोरोशेन्कोले त्यसबाट युद्धविराम हुने आशा जागेको प्रतिकृया दिए।

प्रस्तावको विस्तृत विवरण भने खुलाइएको छैन।

रचनात्मक वार्ता

मर्केल र ओलाँदले आफ्नो प्रस्तावबारे रुसी राष्ट्रपतिसँग शुक्रवार मस्कोमा कुराकानी गर्ने कार्यक्रम छ।

रुसले रचनात्मक वार्ताप्रति प्रतिवद्धता जनाएको छ।

अमेरिकाले भने पृथकतावादीहरुलाई रुसले गरेको समर्थनको आलोचना गरेको छ।

कियभमा रहेका अमेरिकी विदेशमन्त्री जन केरीले लडाकू र हतियारहरु युक्रेनबाट फिर्ता गरेर युक्रेनको सीमा सुरक्षा उसलाई नै गर्न दिन रुसलाई आग्रह गरेका छन्।

तस्वीर कपीराइट Reuters
Image caption युक्रेनमा लडिरहेका पृथकतावादीहरुलाई सघाइरहेको आरोप रुसमाथि लाग्ने गरेको छ

द्वन्द्व अन्त्यको निम्ति कूटनीतिक प्रयासले तीव्रता पाइरहेका बेला पूर्वी युक्रेनमा लडाईं भने जारी छ।

कठिन प्रयत्न

विद्रोहीहरुले पूर्वी युक्रेनको डेबाल्टसेभ शहरमा सरकारी फौजलाई घेराबन्दी गरेका छन्।

त्यहाँस्थिति बीबीसीका एकजना सम्वाददाताले उक्त शहर युद्धका कारण तहसनहस र सुनसान बनेको जनाएका छन्।

खाली सडकबाट समाचार सम्प्रेषण गरिरहेका ती सम्वाददाताले भने, “केही युक्रेनी फौजहरुले एउटा मुख्य रेल अड्डालाई नियन्त्रण लिन कठिन प्रयत्न गरिरहेका छन्।”

विद्रोही नियन्त्रित दुईवटा ठूला क्षेत्रमा त्यहीँबाट रेल मार्ग जोडिएको छ।

केही सरसामान बोकेका स्थानीय मानिसहरुको एउटा सानो समूह त्यहाँबाट बाहिर जान सेनाको सहयोगको प्रतिक्षामा रहेको हाम्रा सम्वाददाताले देखेका थिए।