ठूलो सहभागिता सहित दिल्ली चुनाव सम्पन्न

  • 7 फेब्रुअरी 2015
तस्वीर कपीराइट AP
Image caption दिल्ली चुनावले राष्ट्रिय राजनीतिमा मोदीको ताजा परीक्षण गर्ने ठानिएको छ

भारतको राजधानी दिल्लीमा भएको विधानसभा चुनावमा मतदान सम्पन्न भएको छ।

सत्तरी सदस्यीय विधान सभाका निम्ति भएको चुनावमा ६० भन्दा धेरै प्रतिशत मतदाताहरु सामेल भएको अधिकारीहरुले बताएका छन्।

मत हालेका हरु माझ गरिएको सर्वेक्षण एग्जीट पोलहरुको प्रारम्भिक नतीजाले अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी, प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भन्दा अघि रहने प्रक्षेपण गरेका छन्।

धेरै मतदाताहरुले भ्रष्टाचार आफ्ना निम्ति सबभन्दा गम्भीर मुद्दा रहेको बताए। कतिपयले दैनिक आवश्यकता मुद्दा प्राथमिक भएको बताए।

एकजना मतदाताले भने, “हामीलाई यस्तो नेता चाहिएको छ जो हाम्रो साथ साथ खडा होस्। जसले पानी र बिजुली जस्ता हाम्रा दैनिक आवश्यकताबारे सोचोस्।”

टक्कर

मतदानको आधिकारिक नतीजा आगामी मंगलबार आउने छ।

टक्कर निकै कडा छ तर प्रारम्भिक अनुमानहरुले केजरीवाल तथा उनको दल आम आदमी पार्टीले भाजपालाई पछि पार्ने देखाएका छन्।

त्यसबारे विश्लेषण गर्दै बीबीसीका दिल्ली सम्वाददाता सञ्जोय मजुमदार भन्छन्, “केही महिना अगाडिसम्म मानिसहरु के ठान्थे भने नरेन्द्र मोदीको भाजपाले यो चुनाव सहजै जित्ने छ। गत साल उनले राष्ट्रिय चुनावमा हासिल गरेको ठूलो विजयपश्चात यो उनको अर्को उपलब्धि हुने ठानिएको थियो। तर केजरीवाल

नेतृत्वको आम आदमी पार्टीले प्रस्तुत गरेको उत्साहजनक चुनावी अभियानपश्चात यो चुनाव निकै प्रतिस्पर्धात्मक हुन पुगेको छ।”

मजुमदार भन्छन् केजरीवाललाई खास गरी काम गर्ने वर्ग र सुविधाबाट वञ्चित पारिएका समुदायले समर्थन गरेका छन्।

तिनले दिल्लीको कूल जनसंख्याको ६० प्रतिशत हिस्सा ओगट्छन्।

धक्का

यदी त्यस्तो भयो भने त्यसले प्रधानमन्त्री मोदीलाई धक्का लाग्नेछ।

गत वर्षको राष्ट्रिय चुनावमा ठूलो सफलता पाएका मोदीले त्यसपछि भएका थुप्रै स्थानिय चुनावहरु जिते।

उनले विदेशी लगानीकर्ता तथा विश्व नेताहरुलाई पनि आकर्षित पारेका छन्।

उनको दलले दिल्लीमा मुख्यमन्त्रीको प्रत्याशीको रुपमा पूर्व प्रहरी अधिकारी किरण वेदीलाई उभ्याएको थियो।

दुई दलबीच चुनावी अभियानका क्रममा निकै आरोप प्रत्यारोप भए। केजरीवालले भाजपामाथि पैसा र रक्सी बाँडेर मतदातालाई प्रभावित गर्ने कोशिश गरेको आरोप लगाए। जबकि भाजपाले आम आदमी पार्टिमाथि मतदाताहरुलाई डराउने धम्काउने गरेको आरोप लगायो।

सन् २०१३ मा भएको यसअघिको दिल्ली चुनावमा भाजपाभन्दा थोरै सीटले आम आदमी पार्टि पछाडि परेको थियो। तर केजरीवालको नेतृत्वमा त्यतिबेला गठित अल्पमतको सरकार ४९ दिनसम्म चल्यो।

केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पुन चुनाव गराउनु परेको हो।

शनिबारको चुनावमा करीब १२ हजार मतदान केन्द्र रहेका थिए। चुनावमा ६७३ जना उम्मेदवार सहभागी छन्।

दिल्ली विधानसभाका निम्ति मतदाताको संख्या १ करोड ३३ लाख रहेको छ।