एमालेद्वारा विपक्षीलाई वार्ताको आह्वान

  • 7 फेब्रुअरी 2015
तस्वीर कपीराइट bbc
Image caption विपक्षी मोर्चाले देशका विभिन्न भागमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्

सत्तारुढ नेकपा एमालेको स्थायी समितिको बैठकले एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको मोर्चालाई वार्तामा आउन औपचारिक आह्वान गरेको छ।

उक्त पार्टीको शनिबार बसेको स्थायी समिति बैठकले वार्तावाट सहमति जुट्दै गए हाल भएको प्रश्नावली समितिले बनाउने प्रश्नहरु स्वत: असान्दर्भिक हुँदै जाने निश्कर्ष निकालेको बताइएको छ।

आवश्यकता अनुसार वार्ताका लागि सत्तारुढ दलहरुको तर्फबाट प्रधानमन्त्रीले समेत आह्वान गर्ने समेत निर्णय गरेको एमालेले जनाएको छ।

केही दिन यता दलहरुका बीचमा देखिएको संवादहिनता जारी रहँदा शनिबार बसेको उक्त बैठक, विपक्षी मोर्चा सँगको वार्ता र संवादलाई पुन अगाडी बढाउने विषयमा केन्द्रित रहेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए।

आह्वान

उनले भने "प्रश्नावली निर्माणको जुन प्रक्रिया शुरु भएको छ, वार्ताका बेला सहमति हुँदै जाँदा स्वाभाविक रुपले प्रश्नहरु असान्दर्भिक हुँदै जान्छन् र सहमतिको नयाँ ढोका खुल्छ। त्यसो हुनाले फेरी वार्तामा आउनका लागि हामीले आह्वान गरेका हौं।"

उक्त बैठकमा प्रधानमन्त्रीले सहमतिबाटै संविधान जारी हुने कुरा सहित वार्ताका लागि सार्वजनिकरुपमै आह्वान गर्नु पर्ने विपक्षी मोर्चाको मागबारे पनि छलफल गरेको बताइएको छ।

आवश्यकता देखिए सत्तारुढ दलहरुका तर्फबाट प्रधानमन्त्रीले त्यस्तो आह्वान गर्नसक्ने निश्कर्षसमेत बैठकले निकालेको उनले बताए।

उनले भने "शुक्रबार पनि दुईदलका बीचमा छलफल भएको छ र शनिबार पनि त्यो छलफल हुनेछ र आवश्यकता देखियो भने सत्तारुढ पार्टीहरुको तर्फबाट प्रधानमन्त्रीले फेरी आह्वान गर्नुहुने छ।"

अब हुने संवाद, माघ ५ गते चार पक्षबीचमा भएको भनिएको सहमतिबाटै सुरु गर्न सकिने र ६ देखि ९ प्रदेशको बनाउने गरि फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले गरेको प्रस्तावमा पनि छलफल गर्न सकिने निर्णय उक्त बैठकले गरेको बताइएको छ।

अडान

माघ ५ गते दलहरुबीच संघीयताबाहेक निर्वाचन तथा न्यायप्रणालीमा मत मिलेको र शासकीय स्वरुपमा एकीकृत माओवादीले फरक मत राखेर अघि बढ्ने सहमति बनेको बताइएको थियो।

अब हुने छलफल बढीमा जेठ १५ गतेसम्म संविधान जारी गर्न केन्द्रित हुनुपर्ने निर्णय पार्टीले गरेको सचिव ज्ञवालीले बताए।

शनिबार नै प्रधानमन्त्री सुशील कोइरालाले एउटा कार्यक्रममा बोल्दै दलहरुबीचको असमझदारी तोड्न आफू निरन्तर लागिरहेको र छिट्टै वार्ता हुने बताए।

त्यसपछि शनिबार नै पत्रकार सम्मेलन गरी विपक्षी मोर्चाको नेतृत्व गरिरहेको एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले प्रधानमन्त्रीले सहमति गर्ने शर्तसहित सार्वजनिक आह्वान गरे आफुहरु वार्ताका लागि तयार रहेको धारणा राखेका थिए।