नाइजेरियामा आम चुनाव पछाडि सारियो

  • 8 फेब्रुअरी 2015
तस्वीर कपीराइट Reuters
Image caption कार्यकाल समाप्त हुनै लागेका राष्ट्रपति जोनाथन गुडलक पुन उम्मेदवार बनेका छन्

नाइजेरियाको निर्वाचन आयोगले आगामी शनिबार गर्ने भनेको राष्ट्रपतीय चुनाव ६ हप्ता पछाडि सारेको घोषणा गरेको छ।

आगामी फेब्रुअरी १४ तारिखका लागि निश्चित गरिएको चुनाव अब मार्च २८ मा गर्ने भनिएको छ।

त्यसैदिनका लागि निश्चित संसदीय निर्वाचन पनि सारिएको छ।

प्रान्तीय गभर्नर र प्रान्तीय सभाका लागि २८ फेब्रुअरीका लागि निश्चित निर्वाचन पनि ११ एप्रीलका लागि सारिएको छ।

विरोध

आयोगका प्रमुखले उत्तर पूर्वी क्षेत्रमा व्याप्त असुरक्षाका कारण यो निर्णय लिनुपरेको बताएका छन् जहाँको भूभाग बोको हराम जिहादीहरुको नियन्त्रणमा छ।

मुख्य विपक्षी दलले निर्वाचन गर्न हुने जुनसुकै ढिलाइको विरोध गर्ने बताएको छ।

नाइजेरिया निर्वाचन आयोगका अध्यक्ष अट्टाहिरु जेगाका अनुसार सेनाले उनलाई निर्वाचनका बेला सहयोग गर्न उपलब्ध नहुने जानकारी दिएपछि छ हप्ता पछाडि सार्नैपर्ने बाध्यता आएको हो।

जेगा भन्छन्, "मतदाताको सुरक्षा निश्चित नभएसम्म कसरी चुनाव गराउन सकिन्छ र?"

विवादास्पद

सुरक्षा प्रमुखहरुले निर्वाचन प्रमुखलाई फौजहरु उत्तर पूर्वमा बोको हराम जिहादीहरुसँगको लडाइमा व्यस्त रहने जनाएका थिए।

चुनाव पछाडि सार्ने काम अत्यन्त विवादास्पद छ।

मुख्य विपक्षी पार्टीका अधिकारीहरुले राष्ट्रपति गुडलक जनाथनको प्रचार अभियानलाई सघाउन सेनाले निर्वाचन आयोगलाई चुनाव पछाडि सार्न बाध्य बनाएको आरोप लगाएको छ।

राष्ट्रपतिका दुइ उम्मेदवार गुडलक जनाथन र पूर्व सैनिक शासक मोहम्मदु बुहारीबीच कडा प्रतिस्पर्धा देखिएको छ।

लागोसस्थित बीबीसीका संवाददाता भन्छन्, चुनाव पछाडि सार्दा अहिले नै व्याप्त तनाव थप बढ्न सक्छ।