यूक्रेनबारे चार देशको सम्मेलनको तयारी

  • 8 फेब्रुअरी 2015
तस्वीर कपीराइट AFP
Image caption पछिल्ला साताहरुमा विद्रोहीहरुले पूर्वी यूक्रेनमा हमला तेज पारेको बताइन्छ

पूर्वी यूक्रेनमा चर्किएको द्वन्द्वको कुटनीतिक समाधानका निम्ति यूक्रेन, जर्मनी, फ्रान्स र रुसका नेताहरु माझ आगामी बुधबार बेलारुसको राजधानी मिन्स्कमा सम्मेलन आयोजना गर्ने तयारी भइरहेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, यूक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्को, जर्मन चान्सलर एंगेला मर्कल, र फ्रान्सेली राष्ट्रपति फ्राँस्वाँ ओलाँदले आइतबार सामूहिक टेलिफोन कुराकानी गरेका थिए।

राष्ट्रपति पुटिनले भनेका छन् यदी केही बुँदाहरुमा सबै पक्ष सहमत भए भने उक्त सम्मेलन अघि बढ्छ।

यूक्रेनी राष्ट्रपतिले चाहीं उक्त सम्मेलनले रुस समर्थित विद्रोहीहरुसंग तत्काल र निशर्त युद्धविराम गराउने नेताहरुले अपेक्षा राखेको बताए।

शान्ति योजना

केही समय यता जर्मन चान्सलर मर्कल र फ्रान्सेली राष्ट्रपति ओलाँदले यूक्रेनमा नयाँ शान्ति योजनाको अभियानको नेतृत्व गरिरहेका छन्।

उक्त योजनाको विस्तृत विवरण खुलाइएको छैन। तर त्यसले द्वन्द्वको अग्रपंक्तिमा रहेका इलाकाहरुमा करीब ५० देखि ७० किलोमिटरको सेनाको उपस्थिति नरहने क्षेत्र वा डिमिलटराइज्ड जोन बनाउने विषय समेटेको ठानिन्छ।

आइतबारको सामूहिक टेलिफोन कुराकानीमा पूर्वी यूक्रेनको द्वन्द्वको विस्तृत समाधानका निम्ति उपायहरुका प्याकेजबारे छलफल भएको जर्मन सरकारका प्रवक्ताले वक्तव्य मार्फत जनाएका छन्।

गत सेप्टेम्बरमा मिन्सकमै भएको युद्धविरामको सम्झौताले लडाईं रोक्न सकेको थिएन। त्यस यता विद्रोहीहरुले थप क्षेत्र कब्जा गरेका छन्।

अप्रिल २०१४ यता यूक्रेनी सेना र रुस समर्थित विद्रोहीहरुबीच चर्किएको द्वन्द्वका कारण ५३ सय भन्दा धेरैको ज्यान गइसकेको छ।

पश्चिमा मुलुकहरुले रुसले विद्रोहीहरुलाई सहयोग गरेको आरोप लगाएका छन्।

रुसले ती आरोपलाई अस्वीकार गर्दै आएको छ।