इजिप्टमा २० बढी फुटबल प्रशंसकको मृत्यु

  • 9 फेब्रुअरी 2015
तस्वीर कपीराइट AFP
Image caption पछिल्लो हिंसापछि अनिश्चितकालका लागि स्थगित गरिएको अधिकारीहरुले बताएका छन्

इजिप्टको राजधानी कायरोस्थित एउटा रंगशाला बाहिर सुरक्षाकर्मी र फुटबल प्रशंसकहरुबीच झडप हुँदा २२ जनाभन्दा बढी फुटबल प्रशंसकहरुले ज्यान गुमाएका छन्।

प्रहरीले अश्रु ग्यांस र गोली प्रहार गरेपछि भागदौड हुँदा मानिसहरु किचिएको बताईएको छ।

घटनामा कम्तीमा २० जना घाईते भएको अधिकारीहरुले बताएका छन्।

उनीहरुका अनुसार टिकट नभएका जमालेक क्लबका धेरै प्रशंसकहरु रंगशालाभित्र प्रवेश गर्न खोजेपछि तनाव शुरु भएको थियो।

भागदौड

उक्त घटनापछि इजिप्टको प्रिमियर लिग स्थगित गरिएको छ।

रंगशालाभित्र छुटेका मृतक र घाईतेका जुत्ताहरु भागदौडको मौन साक्षी बनेका छन्।

अधिकारीहरुले भित्र छिर्नका निम्ति एउटा मात्र ढोका खोलेपछि तनाव शुरु भएको जमालेकका प्रशंसकहरुले दाबी गरेका छन्।

प्रशंसकहरुको भिड अगाडि बढेपछि तारबार भाचिएको प्रत्यक्षदर्शीहरुले बताए।

“त्यस लगत्तै प्रहरीहरुले सबैतिर अश्रु ग्यांस र गोली चलाउन थाले,” एकजना प्रत्यक्षदर्शीले भने।

रुदै एक युवकले जोगिनका निम्ति ५० जनाभन्दा बढी प्रशंसकहरु एकअर्कामाथि चढेको बीबीसीलाई बताए।

तस्वीर कपीराइट AFP
Image caption सन् २०१२ मा भएको फुटबलसम्बन्धी हिंसामा कम्तीमा ७० जनाको ज्यान गएको थियो

उनले भने, “हामीले मानिसहरुलाई बोकेर लग्न थाल्यौँ।”

दंगा

पोर्ट साइदस्थित एउटा रंगशालामा तीन वर्षअघि भएको दंगामा ७० जनाभन्दा बढी मानिसहरुको ज्यान गएको थियो।

सन् २०१२ को फेब्रुअरीमा भएको उक्त घटनापछि फुटबल प्रतियोगिता हेर्ने दर्शकहरुको निश्चित संख्या तोकिएको थियो।

तर केही साताअघि मात्र उक्त नियम फुकुवा गरिएको थियो।

इजिप्टमा फुटबल प्रशंसकहरु र सुरक्षाकर्मीबीच तनाव र तिक्तताको इतिहास रहिआएको छ।

अधिकांश फुटबल प्रशंसकहरु पूर्वराष्ट्रपति होस्नी मुबारकलाई सत्ताच्युत गर्नेगरी सन् २०११ मा भएको क्रान्तिमा संलग्न थिए।

आउँदा दिनहरुमा थप हिंसा हुन सक्ने देखिन्छ।