प्रधानमन्त्रीको आव्हान विपक्षीद्वारा अस्वीकार

  • 9 फेब्रुअरी 2015
Image caption प्रस्ताव निर्माण समितिले तयार गरेको प्रश्नावलीलाई संविधानसभामा बिहीबार पेश गरिनेछ।

प्रधानमन्त्रीले वार्ताको लागि गरेको आव्हान अपूरो र अस्पष्ट भएको भन्दै विपक्षी दलहरुले अस्वीकार गरेका छन्।

प्रधानमन्त्री सुशील कोइरालाद्वारा वार्ताका निम्ति गरिएको आव्हान अस्पष्ट भएको भन्दै विपक्षी दलहरुको मोर्चाले त्यसलाई अस्वीकार गरेको छ।

आफुहरु वार्ताको पक्षमै भएपनि विश्वसनीय वातावरण नबनेसम्म घोषित आन्दोलन जारी राखिने विपक्षी दलका नेताहरुले बताएका छन्।

स्वागत

संविधानसभामा प्रतिनिधित्व भएका १९ र नभएका ११ सहित ३० दलीय विपक्षी गठबन्धनको सोमबार बसेको बैठकले प्रधानमन्त्री सुशील कोइरालाले आव्हान मार्फत देखाएको चासो र पहललाई सकारात्मक भन्दै स्वागत गरे।

तर त्यो आव्हानले आफुहरुलाई आन्दोलनको बाटोबाट वार्ताको टेबलमा डोर्याउन नसक्ने उनीहरुको निचोड रह्यो।

खासगरी त्यसमा दुईवटा कारणहरु रहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुनले बताए।

“१२ बुँदे समझदारी शान्ति सम्झौता अनि अन्तरिम संविधानको मर्म र भावना अनुसार सहमतिबाट संविधान निर्माण गर्ने ग्यारेन्टी गर्ने एउटा कुरो र अर्को चाहीं उहाँहरुले अंगालेको बहुमतीय प्रकृयाको बाटोलाई सुधार्नुपर्ने कुरो स्पष्ट नआएकोले हामीले प्रधानमन्त्रीको आव्हान अस्वीकार गरेका हौं,” पुनले भने।

हठ

विपक्षी मोर्चामै सामेल केही दलका नेताहरुले भने सत्ताधारी दलहरुमाझ बहुमतबाट संविधान बनाउने उनीहरुकै शब्दमा हठ रहेसम्म वार्ताको औचित्य नहुने बताएका छन्।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, “प्रतिबद्धता विश्वसनीय हिसाबले नगरेपछि के का लागि वार्ता गर्ने? हामीलाई वार्ताको निम्ति वार्ता गर्ने सोख छैन। हामीले प्रधानमन्त्री वा एमाले नेता के पी ओली को अनुहार नहेरेका हौं र? यसरी हुन सक्दैन।”

३० दलीय मोर्चाको बैठकको निर्णयमा सत्तापक्षीय पार्टीहरुलाई स्पष्टता र प्रतिबद्धता सहित विश्वसनीय वातावरण निर्माण गर्न पुन आव्हान गरिएको छ।

त्यसो नभएसम्म आफ्ना आन्दोलन नरोकिने उसले जनाएको छ। त्यही आन्दोलनको माहौल बनाउन भन्दै विपक्षी नेताहरु हाल जिल्ला जिल्लामा खटिएका छन्।

सोमबार संविधानसभाको प्रश्नावली समितिले सबै विवादित विषयमा प्रश्न बनाउने काम सम्पन्न गरेको छ।

ती प्रश्नावली आगामी २९ गते बस्ने संविधानसभाको बैठकमा पेश गर्ने तयारी छ।