दिल्ली चुनावमा आम आदमीको शानदार विजय

  • 10 फेब्रुअरी 2015
तस्वीर कपीराइट EPA PTI
Image caption यसअघि केजरीवालले ४९ दिनमै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

भारतको राजधानी दिल्लीमा, राज्य विधानसभाको निर्वाचनमा भ्रष्टाचार विरोधी आम आदमी पार्टीले अभूतपूर्व विजय हासिल गरेपछि सो पार्टीका समर्थकहरुले खुशीयाली मनाइरहेका छन्।

अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी विधानसभाको ७० मध्ये ६७ स्थानमा विजयी भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले निर्वाचनमा पराजय स्वीकार गरेको छ।

आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले उन्नत भविष्यका लागि मिलेर काम गर्न आह्वान गरेका छन्।

बधाइ

उनले भने, “म एक्लैले केही पनि गर्न सक्दिनँ, म एकदम सानो मान्छे हुँ। तर मलाई जनतामाथि विश्वास छ। दिल्लीको दुई करोड जनतासँग मिलेर हामीले यहाँ बस्ने धनी र गरिब दुवैलाई गर्व हुने शहरको निर्माण गर्न सक्छौं भन्नेमा म विश्वस्त छु।“

प्रधानमन्त्री मोदीले आम आदमी पार्टीका नेता अरविन्द केजरीवाललाई बधाइ दिएका छन्।

गत मे महिनामा भएको राष्ट्रिय निर्वाचनमा ठूलो विजय हासिल गरेको भारतीय जनता पार्टी र त्यसका नेता प्रधानमन्त्री नरेन्द्र मोदीका निम्ति यो ठूलो पराजय हो।

केजरीवालले एक वर्षअघि उनले भ्रष्टाचार विरोधी एक महत्वपूर्ण विधेयकबारेको विवादपछि दिल्लीको मुख्यमन्त्री पदबाट राजनीमा दिंदा उनको राजनीतिक भविष्य ओझेल पर्ने अनुमान गरिएको थियो।

सम्वाददाताहरु भन्छन्, निर्वाचनमा प्राप्त यो जीत, एकजना भूतपूर्व कर निरीक्षक केजरीवालको उल्लेखनीय पुनरागमन हो।

अपेक्षा

उनको पार्टीलाई मे महिनामा भएको आम निर्वाचनमा भारतीय जनता पार्टीले पराजित गरिदिएको थियो।

त्यसअघि सन् २०१३ मा भएको दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टीले उल्लेखनीय रुपमा जितेको थियो।

जितको खुशीयाली मनाइरहेका आम आदमी पार्टीका कार्यकर्ताहरुले गुलाबको पत्तीहरु वर्षाएर केजरीवालको अभिनन्दन गरिरहँदा उनले आफ्नो दलले पाएको अभूतपूर्व जित, उनकै शब्दमा, एकदमै डरलाग्दो पनि भएको बताए किनकी अब उनीहरुले जनताको अपेक्षा अनुरुपको काम गरेर देखाउनु पर्नेछ।

यो पछिल्लो निर्वाचनको अन्तिम मत परिणाममा भारतीय जनता पार्टीले जम्मा तीन स्थान पाएको छ भने देशको एउटा प्रमुख विपक्षी कांग्रेस पार्टीले एक स्थान पनि जित्न सकेन।