भुटानमा फेशन

  • 12 फेब्रुअरी 2015

दुर्गम पहाडी अधिराज्य भुटान सम्भवत: विश्वव्यापी फेशनका लागि चर्चित स्थानहरुमा पर्दैन। केही वर्षअघिसम्म भुटानमा नागरिकहरुका लागि पहिरनबारे निश्चित मापदण्ड नै लागु थियो। तर सो देशको एउटा लोकप्रिय ब्लगमा चर्चा गरिए अनुसार, अवस्था केही फरक हुँदैछ। बाहिरी विश्वसँगको बढ्दो सम्बन्ध र पुराना शैली र स्वरुपका पहिरनप्रतिको मोहले भुटानका सडकहरुमा विशिष्ट शैलीको फेसन देख्‍न सकिन्छ।

फेसनका विद्यार्थी कर्मा वांगचुक आफ्नो पढाई सकेर भुटान फर्केपछि उनले सडकहरुमा कसैको पहिरनले आफूलाई आकर्षित गर्ने ‌बित्तिक्कै तिनीहरुको फोटो खिच्ने गर्न थाले। आफ्नो ब्लग भुटान स्ट्रीट फेशनमा उनले मानिसहरुको लुगाले देशमा भैरहेको परिवर्तनलाई कसरी प्रतिविम्बित गर्छ भन्ने देखाउने गर्छन्।

थिम्पूको ठाँटिएको किसान

तस्वीर कपीराइट BBC World Service

यो आधुनिक देखिनेभन्दा पनि प्राकृतिक शैलीलाई अपनाउने विषय हो। यो वास्तविक भुटान हो। मानिसहरु कस्ता देखिन्छन्, कस्ता पहिरन लगाउँछन् र बिना सेन्सरशीप कसरी व्यवहार गर्छन् भन्ने देखाउने तस्वीरहरु म ब्लगमा राख्‍ने गर्छु। मैले यी किसानलाई एकदिन खेतमा काम गरिरहेको देखेँ। पुरै दृश्यमा एउटा पुरानो शैलीको आकर्षण थियो।

टोकियोबाट सप्रेम

तस्वीर कपीराइट BBC World Service

जब म भारतको फेशन स्कुलमा थिएँ, मानिसहरुमा भुटानी महिलाहरुकाबारे परम्परागत धारणा रहेको थियो। अहिले हेर्दा त्यस्तो धारणा निकै पुरानो लाग्छ। मैले सडकमा भेटको यी महिला जापानमा बसेर फर्किएकी थिइन् र उनले पक्का टोकियोको शैलीलाई भुटान भित्र्याएकी थिइन्।

हजुरआमाको शैली

तस्वीर कपीराइट BBC World Service

एकदिन बाटोमा मैले आफ्नो एकजना मित्रलाई भेटें। उनको लुगाले मलाई आकर्षित गर्यो।

वर्षौं पहिले भुटान र तिब्बतबीच व्यापार हुंदा सीमा क्षेत्रका मानिसहरु यस्तै शैलीका लुगाहरु लगाउने गर्थे।

सन् २००९/१० एकजना प्रसिद्ध विदेशी डिजाइनरले यो शैलीको कपडाको प्रयोग गरेपछि, अकस्मात भुटानमा फेरी यो पहिरन जहीँतहीँ फेसनको रुपमा देखिन थाल्यो।

मेरो साथी जस्ता युवा युवतीले त्यसपछि आफ्नो हजुरआमाका दराजमा थन्किएका पुराना लुगाहरु झिकेर लगाउन थाले। र यहाँ एकजना हजुरआमा त्यही पुरानो शैलीको तिब्बती पहिरनमा देखिन्छिन्, जुन अहिले सबैभन्दा बढी फेसनमा छ।

कार्यालय पहिरन

तस्वीर कपीराइट Karma Wangchuk

भुटानका सरकारी कार्यालयहरुमा राष्ट्रिय पोशाक लगाउनुपर्ने अनिवार्य नियम छ। तर धेरै निजी कार्यालयहरुमा समेत मानिसहरु राष्ट्रिय पोशाक नै लगाउन खोज्छन्। यो भुटानमा पुरुषहरुले लगाउने परम्परागत पहिरन हो।

एउटा आकर्षक मेल

तस्वीर कपीराइट BBC World Service

हामीहरु पखेटा भएका लुगा लगाउँदैनौं। यी नाच्ने मान्छेले परम्परागत लुगा लगाएका छन् तर त्यसमा लगाइएका पखेटाहरु पछि थपिएका हुन्, जुन आधुनिक शैली हो।

प्यारिस भुटान

तस्वीर कपीराइट BBC World Service

तर सायद म युवा भुटानीहरुले कुनै मिहेनत बिना नै परम्परालाई आधुनिकतासँग मिसाएका देखेर प्रभावित हुने गर्छु।

तिनीहरुको पहिरनको माथिल्लो आधा अंश प्यारिस अथवा लन्डनको कफी पसलहरुमा देख्न सकिएला तर तल्लो भागको पहिरन भने भुटानमा मात्रै देखिन्छ।

सहरमा एउटा ग्रामीण शैली

तस्वीर कपीराइट BBC World Service

यी एकजना गाउँले किशोरी हुन्। उनी आफ्नी आमासंग कपडा किन्न बजार आएकी हुन्। पुरानो शैलीको बुट्टा र चमकदार रंगहरुको मिश्रण भएको उनको जस्तो पहिरन अहिले फेसनमा आएको छ।

केटाहरु

तस्वीर कपीराइट BBC World Service

जब म सानो थिएँ हामीले पछाडि भिर्ने झोलामा जापानी वा अन्य कार्टुनका चर्चित पात्रहरु हुन्थे। त्यो पश्चिमा प्रभाव थियो, तर अहिले युवाहरुमाझ स्थानीय कपडाहरुको प्रयोग गर्ने शैली लोकप्रिय देखिएको छ।

तीनजनाको पहिरन

तस्वीर कपीराइट BBC World Service

उनीहरु नहाँसी उभिएका छन् तर मेरो नजरमा उनीहरु आकर्षक देखिएका छन्।

तिनीहरुले किरा भनिने महिलाहरुको राष्ट्रिय पोशाक लगाएका छन्। जुन दोब्बर साइजको तन्ना जत्रो आकारको चारकुने कपडाबाट बनाइन्छ।

अध्ययन

भुटानमा पहिरनको परिवर्तित शैलीमा दृष्टि दिनु भनेको भुटानी इतिहासको अध्ययन गर्नु हो।

त्यो हामी कति अलग्गै रहेका रहेछौँ र हाम्रो पहिचानका लागि हाम्रो परम्पारगत शैली कतिको महत्वपूर्ण रहेछ भन्ने कुराको स्पष्ट प्रमाण पनि हो।

तर त्यसले एउटा परिवर्तिनशील भुटानलाई पनि झल्काउँछ जसको बाहिरी विश्वसंगका सम्बन्धहरु बढ्दै छन्।

म जहाँ जान्छु मेरो क्यामेरा मसँगै हुन्छ। र म सधैँ मानिसहरुले के लगाईरहेका छन् र उनीहरुले आफ्नो व्यक्तित्व, संस्कृति र इतिहास कसरी झल्काइरहेका छन् भन्ने कुराहरु देखाउने फोटो खिच्ने अवसरहरुको खोजीमा रहन्छु।