तीन सय आप्रवासी मारिएको आशंका

  • 11 फेब्रुअरी 2015
तस्वीर कपीराइट Reuters
Image caption अघिल्लो साता भूमध्य सागरमै डुबेका चार जना लिबियालीको उद्धार गरिएको थियो

संयुक्त राष्ट्र संघले भनेको छ, गत पांच दिनमा उत्तर अफ्रीकाबाट आप्रवासीहरु लिएर आइरहेका डुंगाहरु भूमध्य सागरमा डुब्दा कम्तीमा तीनसय जनाको ज्यान गएको आशंका गरिएको छ।

इटलीका तटरक्षकहरुले तीनवटा साना डुंगाहरुमा सवार केहीलाई मात्र उद्धार गर्न सकेका छन्, जुन गत सप्ताहअन्त्यमा लिबियाबाट छुटेका थिए।

ती उद्धार गरिएका आप्रवासीहरुले चौथो डुंगा तिनीहरुको पछि पछि आएको तर अहिले त्यो बेपत्ता भएको बताएका छन्।

संयुक्त राष्ट्र संघको शरणार्थी निकायका अनुसार, अझ बढ्न सक्ने मृतकहरुको संख्याले युरोपेली संघलाई के स्पष्ट सन्देश दिएको छ भने, भूमध्य सागरमा हाल जारी खोजी तथा उद्धार अभियान अपर्याप्त छ।

दुख

राष्ट्रसंघीय शरणार्थी निकाय यूएनएचसीआरका क्षेत्रीय निर्देशक भिन्सेन्ट कोचटेलले उक्त घटनालाई जोगाउन सकिने प्रकृतिको दु:खान्त घटना भनेका छन्।

सोमबार आएको प्रारम्भीक विवरणहरुमा, तिनीहरु सवार डुंगा डुब्दा २९ जना आप्रवासीहरु मारिएका जनाइएको थियो।

ती आप्रवासीहरु शनिवार चारवटा साना डुंगाहरु चढेर लिवियाबाट हिंडेका थिए।

गत नोभेम्बर महिनामा इटलीले समुद्रमा अलपत्र पर्ने आप्रवासीहरुलाई उद्धार गर्ने उद्देश्यले संचालित एक बर्ष लामो अभियानलाई अन्त्य गरेको थियो।

सन् २०१३ को अक्टोबर महिनामा ल्याम्पेडुसा टापुको तटपारी भएको दुर्घटनामा ३६६ जनाको ज्यान गएपछि प्रतिक्रिया स्वरुप त्यस्तो उद्धार अभियान संचालन गरिएको थियो।

उद्धार

इटलीमा रहेका बीबीसी सम्वाददाता म्याथ्यू प्राइस भन्छन्, त्यस्तो खोजी तथा उद्धार अभियानलाई संचालनमा नै राखिएको भए आप्रवासी महिला, पुरुष र बालबालिकाहरुलाई जोगाउन सकिन्थ्यो की सकिंदैनथ्यो भनेर जान्ने उपाय त छैन।

तर इटलीको नौसेनाको एउटा जहाजमा एक हप्ता विताएका उनले भने, त्यस्तो उद्धार सेवा जारी रहेको भए ती आप्रवासीहरुलाई जोगाउन सम्भव भएसम्मको सबै प्रयास भने गरिने थियो।

यूएनएचसीआरका अनुसार, सन् २०१४ मा युरोप पुग्नका लागि भूमध्य सागर पार गर्ने प्रयास गर्नेहरु मध्ये झण्डै तीनहजार पांचसय जनाको ज्यान गएको थियो।