आईएसद्वारा अन्तिम अमेरिकी बन्धकको हत्या

  • 11 फेब्रुअरी 2015
तस्वीर कपीराइट AP. The Daily Courier. Jo.L.Keener
Image caption सन् २०१३ मा सिरियाको एलेप्पोमा काम गरिरहेका बेला २६ वर्षीया केयला म्युलर अपहरणमा परेकी थिईन्

अन्तिम अमेरिकी बन्धक भनिएकी सहायताकर्मी केयला म्युलरको इस्लामिक स्टेट लडाकु समूहले हत्या गरेको अमेरिकाले पुष्टि गरेको छ।

म्युलरको परिवारले हत्याको खबरबाट बज्रपात परेको बताउँदै अपहरणमा परेका बेला उनले लेखेको पत्र सार्वजनिक गरेको छ।

म्युलरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपति बराक ओबामाले अमेरिकाको सबैभन्दा राम्रो पक्षको उनले प्रतिनिधित्व गरेको बताएका छन्।

गत साता इस्लामिक स्टेट लडाकु समूहले जोर्डनी हवाई हमलामा म्युलर मारिएको बताएको थियो।

आत्मसम्मान

तर त्यसबारे कुनै प्रमाण उपलब्ध गराएको थिएन।

सन् २०१३ मा सिरियाको एलेप्पोमा काम गरिरहेका बेला २६ वर्षीया म्युलर अपहरणमा परेकी थिईन्।

उनको परिवारद्वारा जारी वक्तव्यमा भनिएको छ, “हाम्री एकमात्र छोरीको निम्ति हाम्रो मुटु चुँडिरहेको छ, तर हामी शान्ति, आत्मसम्मान र उनीप्रतिको मायालाई निरन्तरता दिईरहने छौँ।”

तस्वीर कपीराइट mueller family
Image caption म्युलरको परिवारले उनी सहयोगी भावना भएकी महिला थिईन्

सन् २०१४ मा एउटा पत्रमार्फत म्युलरले आफूलाई निकै सम्मान र मायापूर्ण व्यवहार गरिएको भन्दै परिवारलाई ढुक्क बनाउने प्रयास गरेकी थिईन्।

कठघरा

उनले पत्रमा लेखेकी थिईन्, “मलाई थाहा छ तपाईंहरु म दरो बनूं भन्ने चाहनुहुन्छ, खासमा म त्यही गर्दैछु।”

राष्ट्रपति ओबामाले म्युलर आफूहरुबीच नरहेपनि उनको योगदान रहिरहने बताए।

जति समय लागेपनि म्युलरको अपहरण र हत्यामा संलग्न आतंकवादीहरुलाई अमेरिकाले न्यायको कठघरामा उभ्याईछाड्ने ओबामाको भनाई थियो।

म्युलर कुन अवस्थामा मारिएको भन्ने विषयमा हवाईट हाउस र उनको परिवार कसैले पनि केही बताएको छैन्।