क्यान्सर उपचारको सम्भावनायुक्त खोज

  • 12 फेब्रुअरी 2015
Image caption नयां औषधिको प्रयोगपछि सोफीको ट्यूमर निष्कृय भएको छ

क्यान्सरका रोगीहरु लण्डनस्थित रोएल मार्सडन अस्पतालमा भएका नयां औषधि परिक्षणहरुमा सहभागी भएका छन्।

यि परिक्षणहरुले क्यान्सरग्रस्त कोषहरुको बृद्धि गराउने निश्चित प्रकारको जेनेटिक म्युटेशन अर्थात बंशाणुगत उत्परिवर्तनलाई निशाना बनाउने गर्छन्।

यो नौलो उपचारले चांडै नै क्यान्सरको पहिचान भएका विरामीहरुलाई निको पार्ने सम्भावनालाई बलियो बनाएको छ।

लण्डनमा भैरहेको क्यान्सर उपचार परिक्षणमा ११ बर्षिया बालिका सोफी आर्मीटेज पनि सहभागी छिन्।

उनलाई नौ बर्षको उमेरमा नै आइएमएफटी भनिने एक दुर्लभ प्रकारको क्यान्सर भएको पत्ता लागेको थियो।

उनको एउटा क्यान्सरग्रस्त फोक्सो शल्यक्रिया गरेर हटाउनु पर्ने थियो।

उनको श्वासप्रश्वास प्रणालीमा रहेको दुर्लभ प्रकारको ट्युमरलाई नौलो औधधिहरुको प्रयोग गरी उपचार गरिएको थियो र उनको स्वास्थ्यको नियमित जांच परिक्षण भैरहेको छ।

एघारौं जन्म दिनको दिनमा उनको तीनथरी रक्तपरिक्षण र सीटी स्क्यान गरिएको थियो।

र नतिजा उनका लागि सुखद देखा परेका छन्। उनको ट्यूमरको आकार घटेको छ र त्यसरी बांकी रहेको ट्यूमर पनि निष्कृय भएको छ।

“मेरो फोक्सोमा ठूलो ट्यूमर अब छैन यस्बाट म निकै खुशी भएको छु,” सोफीले भनिन्।

चमत्कारी बालिका

नयां औषधिको परिक्षण शुरु गरिएको केहि हप्ता भित्रै सोफीको ट्यूमर आलुबखडाको जत्रो आकारबाट घटेर सानो अमला जत्रो भएको थियो।

उनको कन्सल्टेन्ट चिकित्सक डा. लुईस चेस्लरले सोफीको केसलाई जीवनदायी भनेकी छिन्।

“सोफीमा देखिएको जस्तो सुधार हरेक प्याडीएट्रीक अंकोलोजीष्टले खोज्ने नतिजा हो। यो वास्तवमै विष्मयकारी र चमत्कारी हो। उपचारका क्रममा हामीले सोफीलाई उनी विशेष बालिका भएको बताएका थियौं र वास्तवमैं उनी चमत्कारी बालिका बनेकी छिन्।“

इन्स्टीट्यूट अफ क्यान्सर रिसर्चको औषधि विकास एकाईका निर्देशक प्रोफेसर जोहान डे बोनोले बीबीसीसंग कुरा गर्दै भने, “क्यान्सरको उपचार र अनुसन्धानको इतिहासमा नै यो प्रगतिको अभूतपूर्व समय हो।“

प्रोफेसर डे बोनोले भने परिक्षण गरिएको नौलो औषधिको विशेषता भनेको त्यस्बाट कीमोथेरापीको भन्दा थोरै “साइड इफेक्ट” हुन्छ र त्यो औषधि हरेक दिन घरमै बसेर खान सकिन्छ।

त्यस्तो नौलो औषधिको परिक्षण प्रयोगबाट हासिल भएको सफलताको सम्भावनाले, क्यान्सर विरामीहरुले चांडै नै नयां क्यान्सररहित नयां जीवनको अपेक्षा गर्न सक्छन्।