युक्रेनमा जारी लडाइ अन्त्य गर्ने सहमति

  • 12 फेब्रुअरी 2015
तस्वीर कपीराइट AFP
Image caption युक्रेनमा जारी लडाइमा एक वर्षयता हजारौं मानिसले ज्यान गमाइसकेका छन्।

बेलारुसमा भएको लामो वार्तापछि, युक्रेनमा जारी लडाइ अन्त्य गर्न लक्षित एउटा सम्झौता भएको छ।

रुस, युक्रेन, जर्मनी र फ्रान्सले अबको तीन दिनपछि युद्धविराम लागू हुने घोषणा गरेका छन्।

उक्त सम्झौतामा हतियार फिर्ती तथा बन्दी आदानप्रदान जस्ता मुद्दाहरु समेटिएको बताइएको छ।

रुस, युक्रेन, जर्मनी र फ्रान्सका नेताहरुले युद्धविराम यही आइतबारबाट सुरु हुने बताए।

सम्झौता

पछिल्लो सम्झौतामा पूर्वी युक्रेनका रुस समर्थक विद्रोहीहरुले हस्ताक्षर गरेका छन्।

सम्झौतापूर्व रुस युक्रेन र फ्रान्सका राष्ट्रपति तथा जर्मनीकी चान्सलरले १५ घण्टाभन्दा बढी वार्ता गरेका थिए।

कुनै विन्दुमा वार्ता विफल हुने हो कि भन्ने आशंकाहरु उत्पन्न भएका थिए।

तर अन्तत: युद्धविराम सम्झौता भएको घोषणा नेताहरुले गरेका थिए जसको खबर उनीहरुले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर दिएका थिए।

चुनौती

बीबीसीका संवाददाता रिचर्ड ग्याल्पिनले भने, "आफ्नो पत्रकार सम्मेलनमा युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले युक्रेनी सेना र दोनेस्क तथा लुहान्स्कमा रहेका रुस समर्थक विद्रोहीहरुले बन्दी आदानप्रदान गर्ने बताए। पछिल्लो सम्झौतापनि एक वर्षअघि भएको युद्धविराम जस्तै छ जुन छिट्टै भंग पनि भयो।"

सम्झौता गराउन महत्वपूर्ण भूमिका खेलेका मुलुकका नेताहरुले पछिल्लो सम्झौताले आशाको सञ्चार गरेको बताएका छन्।

तर चुनौतीहरु थुप्रै रहेकोतर्फ उनीहरुले सचेत गराएका छन्।

अब थप वार्ताहरु विद्रोहीहरुको नियन्त्रणमा रहेका दोनेस्क र लुहान्स्क क्षेत्रमा हुने बताइएको छ।