'शिक्षकको पदपूर्ति प्रक्रिया दुई महिनापछि'

  • 14 फेब्रुअरी 2015

शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा देशभरी झण्डै सात हजार शिक्षकको स्थायी पदपुर्ती गर्नमा ढिलाई भैरहेको गुनासो गरिरहदा शिक्षा मन्त्रालयले पदपूर्तिको काम थालनी गर्न अझै दुई महिना लाग्ने बताएको छ।

Image caption प्राथमिक तहमा शिक्षक पर्याप्त रहेकोले त्यसमाथिको तहमा शिक्षकको पदपुर्ति गरिने बताइएको छ

कस्ता शिक्षक चाहिने भन्नेबारे पुनरावलोकनको काम भैरहेकोले त्यसबारेको प्रतिवेदन प्राप्त भएपछि मात्र पदपूर्तिका लागि बाटो खुल्ने मन्त्रालयको भनाई छ।

प्रतिवेदन

खास गरी माध्यमिक तहमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकहरुको कमी रहेकोले विषय शिक्षकको स्थायी पदपूर्तिको लागि पहिले नै अनुरोध आए पनि नियमावलीसँग मेल नखाने गरी माग भई आएकोले पुनरावलोकनको लागि पुन जिल्लामै पठाईएको शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले बताए।

दुई महिनाभित्र पुनरावलोकनको प्रतिवेदन प्राप्त भइसकेपछि पदपूर्तिको लागि शिक्षक सेवा आयोगले काम सुरु गर्ने उनले बताए।

उनले भने, “विज्ञान, गणित र अंग्रेजी विषयकै शिक्षकहरु कम भए। त्यो अनुसारको पुनरावलोकन गर्नु भनेर जिल्लालाई भनिएको छ। त्यसको प्रतिवेदन आएपछि हुन्छ। दुई महिनामा काम सकिएला। त्यसपछि विज्ञापन चाहिं शिक्षक सेवा आयोगले गर्छ।”

शिक्षक सेवा आयोगले खुल्ला प्रतिस्पर्धाबाट गत वर्ष झण्डै १३ हजार शिक्षक नियुक्त गर्दा अस्थायी शिक्षकहरुले विरोध गर्दै आन्दोलन गरेपछि उनीहरुको मागलाई सम्बोधन गर्ने गरी यस पटक विज्ञापन खुलाउन मन्त्रालयले पहल गरीरहेकोले पनि पदपूर्ति गर्न ढिलाई भएको सचिव पण्डितले बताए।

प्रस्तुत

शिक्षा ऐनमा अस्थायी शिक्षकलाई प्राथमिकता दिने गरी पदपूर्ति गर्न सकिने व्यवस्था नभएकोले उनीहरुको मागलाई सम्बोधन गर्नको लागि ऐन संसोधन गर्न संसदको आगामी अधिवेशनमा पठाउने तयारी भइरहेको पण्डितले जनाए।

“अर्थ मन्त्रालयको सहमति चाहिन्छ। संसोधन मस्यौदा अर्थ मन्त्रालयमा छ। त्यहाँबाट सहमति आएपछि कानुन मन्त्रालयमा पनि जान्छ। त्यहाँबाट पनि आएपछि संसदमा प्रस्तुत गर्छौं,” उनले भने।

देशभरी हाल झण्डै २५ हजार अस्थायी शिक्षकहरु रहेकोले उनीहरुको उचित व्यवस्थापन नगरी नयाँ पदपूर्तिको लागि विज्ञापन नखुलाउन र खुलाए पुन: आन्दोलनमा जाने अस्थायी शिक्षक केन्द्रिय संघर्ष समितिले चेतावनी दिदै आएको छ।

उसको कतिपय मागलाई पुरा गर्न सरकारले विगतमा लिखित रुपमै प्रतिवद्धता व्यक्त गरेको थियो।