‘अर्जेन्टिनाकी राष्ट्रपतिमाथि मुद्दा चल्न सक्ने’

  • 14 फेब्रुअरी 2015
तस्वीर कपीराइट AFP
Image caption राष्ट्रपति क्रिस्टिना फर्नान्डेस ए किर्चनरले आफूमाथि लगाईएको आरोप अस्वीकार गर्दै आएकी छन्

अर्जेन्टिनाका एकजना अभियोजनकर्ताले सन् १९९४ मा गराईएको एउटा बम आक्रमणमा राष्ट्रपति क्रिस्टिना फर्नान्डेस ए किर्चनरले इरानको भनिएको संलग्नतालाई ढाकछोप गर्न सघाएको आरोपबारे छानबिन गर्न संघीय न्यायाधीशलाई आग्रह गरेका छन्।

शंकास्पद अवस्थामा पूर्वअभियोजनकर्ता अल्बर्टो निस्मान मृत फेला परेपछि उक्त मुद्दाको जिम्मेवारी अभियोजनकर्ता चेरार्डो पोल्लिसिटामा सरेको हो।

राष्ट्रपतिले उक्त आरोप अस्वीकार गर्दै ‍आएकी छन्।

आफूमाथि लगाईएको आरोपबारे छानबिन गर्न खोज्नुलाई उनकै शब्दमा प्रजातन्त्रविरोधी आक्रमण भनेकी छन्।

संलग्नता

सन् १९९४ मा एउटा यहुदी केन्द्रमा गराईएको बम विष्फोटमा ८५ जनाको ज्यान गएको थियो।

इरानले उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।

पछिल्ला अभियोजनकर्ताको कदमको अर्थ राष्ट्रपतिमाथि लगाईएको आरोपबारे न्यायाधीशले नयाँ अनुसन्धान गर्नुपर्ने वा नपर्ने विषयमा आदेश दिनुपर्ने भएको बताईएको छ।

तस्वीर कपीराइट Reuters
Image caption यहुदी केन्द्र गराईएको आक्रमणबारे छानबिन हुनुपर्ने मानिसहरुले माग गरेका छन्

यदि अभियोजनाकर्ता र न्यायाधीश राष्ट्रपति, फर्नान्डेसले अपराध गरेको पुष्टि गर्न पर्याप्त तथ्य रहेको भन्ने विषयमा सहमत भए उनीमाथि मुद्दा चलाईन सकिने जनाईएको छ।

मृत्युअघि पूर्वअभियोजनकर्ता निस्मानले यहुदी केन्द्रमाथि गरिएको आक्रमणबारे रिपोर्ट प्रकाशित गरेका थिए।

ढाकछोप

तेल लगायतका सामानमा सहज सम्झौताका लागि राष्ट्रपति र अन्यले उक्त आक्रमणमा इरानको भनिएको संलग्नता ढाकछोप गरेको उनले आफ्नो रिपोर्टमा उल्लेख गरेका थिए।

कंग्रेसमा प्रमाण पेश गर्न जानु केही घण्टाअघि गत जनवरीमा टाउकोमा गोली प्रहार गरिएको अवस्थामा निस्मानको शव फेला परेको थियो।

राष्ट्रपतिले भने उनलाई समस्यामा पार्न धूर्त सुरक्षा एजेन्टहरुले ती वकिलको हत्या गरेको हुन सक्ने बताएकी छन्।

बीबीसीका एकजना संवाददाताको विश्लेषण छ, यद्यपि उक्त कदम अनपेक्षित होईन तर राष्ट्रपतिका लागि निकै नराम्रो समय चलिरहेका बेला पछिल्लो घटनाक्रम भएको छ।