‘पर्याप्त गाडी नहुँदा ग्याँस आपूर्तिमा समस्या’

  • 15 फेब्रुअरी 2015
Image caption पर्याप्त आपूर्ति नहुँदा घण्टौं लाइन बसेर उपभोक्ताहरुले ग्याँस सिलिण्डर पाउने गरेका छन्

भारतबाट ल्याईने खाना पकाउने ग्याँसको अभाव हटाउनका निम्ति कोटा बढाएको भनिएपनि ढुवानी गर्ने साधनको अभावका कारण समस्या देखिएको नेपाल आयल निगमले जनाएको छ।

हाल प्रयोग हुँदै आएका ३५० वटा ग्याँस बोक्ने विशेष गाडीले नै थपिएको परिमाण ओसार्न नसक्ने भन्दै अर्को २ सय ५० वटा गाडी आवश्यक रहेको निगमले बताएको छ।

अभाव चर्किएपछि साबिकको २३ हजार मेट्रिक टनबाट बढाएर निगमले ग्यासको मासिक कोटा २९ हजार मेट्रिक टन पुर्याएको थियो।

निगमको निर्णय अनुसार भारतीय आयल निगम ग्याँस दिन तयार भएपनि ग्याँस ल्याउन हाल उपलब्ध गाडीले मात्र नपुग्ने अवस्था छ।

परिमाण

निगमका कार्यकारी निर्देशक गोपालबहादुर खडकाले भने, “अहिले प्रयोग भईरहेका पनि उनीहरुको काम नभएको बेला मात्र हाम्रोमा लगाउने गरेका रहेका छन्, त्यसैले भने जति परिमाण आउने सक्ने अवस्था छैन्।”

एउटा गाडीले १८ सयदेखि २१ सय मेट्रिक टन ल्याउँछ, जसमा १२ सय ५० सिलिन्डर ग्याँस अटाउँछ।

थप कोटाको ग्याँस ल्याउन चाहिने थप गाडीको बन्दोबस्त मिलाउन निगमले प्रयत्न गरिरहेको जनाएको छ।

Image caption केही स्थानमा बायोग्याँसलाई विकल्पका रुपमा प्रयोग गर्न थालिएको बताईन्छ

त्यसका निम्ति भारतका ढुवानी व्यवसायीहरुसँग कुरा भईरहेको र उनीहरुले ढुवानीको वचन दिएको कार्यकारी निर्देशक खडकाले बताए।

उनले भने, “त्यहाँका ढुवानीकर्ताहरुसँग अरु २५० गाडी थपेर ६०० वटाले नियमित ढुवानी गर्ने कुरा गरेका छौँ, उनीहरुले हामीसँग गरेको प्रतिबद्धताअनुसार भयो भने सबै ग्याँस ल्याउन सक्छौँ।”

विकल्प

नेपाल आयल निगमले भारतका बरौनी, हल्दिया र मथुरा प्रशोधन केन्द्रहरुमार्फत ग्याँस ढुवानी गर्दै आएको छ।

ढुवानी व्यवसायीहरुमार्फत ग्याँस उद्योगीहरुले ल्याउने यस्तो ढुवानीको विकल्प खोज्ने काममा निगम लागि रहेको बताईएको छ।

निगमले नै ढुवानी ठेक्का गर्ने या ढुवानी गर्ने साधन निगमले नै किन्ने विषयमा छलफल भईरहेको बताईएको छ।

भारतीय आयल निगमले तेलको जस्तै ग्याँसको पनि पाइपलाईन राख्नेतर्फ चासो देखाईरहेको निगमको भनाई छ।