कप्टिक इशाईहरु मारिएकामा इजीप्टमा शोक

  • 16 फेब्रुअरी 2015
तस्वीर कपीराइट AP

इजीप्टका राष्ट्रपति अब्देल फतह अल सीसी ले, छिमेकको ‌लिबियामा इस्लामिक स्टेटसंग आबद्ध उग्रवादीहरुहरुले कप्टीक इसाईहरुलाई मारिदिएपछि काएरोस्थित कप्टीक इशाईहरुको गिर्जाघरमा गै पोप टावाड्रोस समक्ष समवेदना व्यक्त गरेका छन्।

आफ्ना नागरिकहरुको ज्यान लिइएको घटनाको बदला स्वरुप इजीप्टका युद्ध विमानहरुले लिबियामा रहेका आइएसका शिविरहरु, तालिम केन्द्र र हतियार भण्डारहरुलाई लक्ष्य गरी हमला गरेका छन्।

इजीप्टले लिबियास्थित इस्लामिक स्टेटका ठेगानाहरुमा आक्रमण गरेको जनाएको छ।

लिबियामा बन्धक बनाइएका २१ जना कप्टीक इशाईहरुको टाउको काटेर ज्यान लिइएको भिडियो सार्वजनिक भएको केहि घण्टापछि नै बदला स्वरुप त्यस्तो हमला गरिएको बताइएको छ।

तस्वीर कपीराइट AFP

लिबियाका अधिकारीहरुले इजीप्टको हवाइ हमलाको मार उग्रवादीहरुको नियन्त्रणका रहेको डेर्ना शहरमा परेको बताएका छन्।

भिडियो

आइतबार सार्वजनिक भएको एउटा भिडियोमा बन्धक बनाइएका कप्टीक इशाईहरुलाई भुईंमा लडाएर तिनीहरुको टाउको काटिएको दृश्य रहेको थियो।

आइएसका उग्रवादीहरुले लिबियामा विभिन्न हमलाहरु गरेको दाबी गर्ने गर्छन्, जहां कुनै वास्तविक सरकार छैन।

तस्वीर कपीराइट AP

‌इजीप्टका ति कप्टीक इशाई कामदारहरुलाई बेग्लै बेग्लै घटनामा गत डिसेम्बर र जेनुअरी महिनामा इस्लामवादी समूहहरुको नियन्त्रण रहेको पूर्वी लिबियाको सर्त सहरबाट बन्धक बनाइएको थियो।

तिनीहरुको टाउको काटेर मारिएको घटनापछि इजीप्टले देशमा सात दिन राष्ट्रिय शोकको घोषण गरेको छ।

एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति अब्देल फतह अल सिसिले इस्लामिक स्टेटको निन्दा गरेका थिए।