बन्धक हत्याको बदला लिने इजिप्टको चेतावनी

  • 16 फेब्रुअरी 2015
तस्वीर कपीराइट EPA
Image caption लिबियामा काम गर्न गएका बेला इजिप्टका कप्टिक ईसाईहरु अपहरणमा परेको बताईएको छ

बन्धक बनाईएका आफ्नो देशका कप्टिक ईसाईहरुको हत्याप्रति आफ्नै तरिकाले प्रतिक्रिया जनाउने इजिप्टसँग अधिकार भएको त्यहाँका राष्ट्रपति अब्देल फतह अल-सीसीले बताएका छन्।

यसअघि लिबियाका इस्लामिक स्टेट लडाकुहरुले अपहरण गरेका इजिप्टका २१ जना इसाईहरुमध्ये १० जनाको कथित रुपमा शिर छेदन गरिरहेको एउटा भिडिओ देखा परेको थियो।

सरकारविहीन रहेको लिबियामा इस्लामिक स्टेट लडाकुहरुले धेरै पटक आक्रमण गरेको दाबी गरेका छन्।

यद्यपि विभिन्न समूहहरु क्रियाशील रहेको लिबियामा इस्लामिक स्टेट वास्तवमा कति शक्तिशाली छ भनी स्पष्ट छैन्।

अपहरण

पूर्वी लिबियाको सिर्तेबाट गत डिसेम्बर र जनवरीमा कप्टिक ईसाई रहेका इजिप्टका ती कामदारहरु अपहरणमा परेका थिए।

इस्लामिक स्टेटप्रति वफादार रहेको लिबियाका जिहादीहरुले शिर छेदन गरिएको भिडिओ अनलाइनमा राखेको बताईएको छ।

राष्ट्रपति सीसीले भने, “अतिवादी विचारधारा र एउटै उद्देश्य बोकेका अतिवादी समूहहरुसँग इजिप्ट र सारा विश्व भीषण लडाइमा छ।”

निकै सम्मानित मानिने इजिप्टस्थित धार्मिक संस्था अल-अज्हरले शिर छेदनलाई बर्बर कार्यको संज्ञा दिएको छ।

इजिप्टको कप्टिक चर्चले हत्याको इजिप्टले सावधानीपूर्ण बदला लिनेमा विश्वस्त रहेको जनाएको छ।

तस्वीर कपीराइट Reuters
Image caption बन्धकहरुको रिहाइको माग गर्दै इजिप्टमा प्रदर्शनहरु भएका थिए

हत्यापछि इजिप्टले सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ।

अस्थिरता

तत्कालीन शासक कर्नेल गद्दाफीलाई सत्ताच्यूत गरिएपछि सन् २०११ देखि लिबियामा अस्थिरता रहिआएको छ।

त्यसयता शक्ति हातमा लिने प्रयासमा दर्जनौं समूहहरुले लडाइ गरेका छन्।

त्रिपोलीमा दुईवटा प्रतिद्वन्द्वी सरकार रहेको बताईन्छ।

ब्रिटेनका विदेशमन्त्री फिलिप हामोण्डले हत्याको निन्दा गरेका छन्।

आईतबार इजिप्टले आफ्ना नागरिकहरुमाथि लिबिया भ्रमणमा प्रतिबन्ध लगाएको छ।