दशगजा क्षेत्रसँग जोडेर सडक नबनाउन पत्राचार

  • 18 फेब्रुअरी 2015
तस्वीर कपीराइट umakanta khanal
Image caption धेरै स्थानमा सीमास्तम्भहरु जीर्ण अवस्थामा पुगेको बताइन्छ

भारतले दशगजा क्षेत्रसँग जोडेर सडक निर्माण गरेको विषयमा विवाद बढिरहेका बेला निर्माण कार्य रोक्ने आग्रहसहितको पत्र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दुतावासलाई पठाइएको नेपालका अधिकारीहरुले बताएका छन्।

केही दिन पहिले गृह मन्त्रालयका सहसचिवस्तरमा सडक निर्माणका विषयमा भएको निर्णयसहित पठाइएको उक्त पत्रको जवाफ भने आईनसकेकको बताइएको छ।

नदीको प्राकृतिक बहाव रोक्ने गरी १ हजार ६ सय किलोमिटर सडक निर्माणको काम भारतले बाँके जिल्लाको सीमावर्ती क्षेत्रबाट शुरु गरेको बताइएको छ।

भारतद्वारा निर्मित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण हरेक वर्ष बाँके जिल्लाका केही भूभाग डुबानमा पर्दै आएका थिए।

डुबान

त्यही तटबन्धलाई आधार बनाएर भारतीय पक्षले एकलौटी सडक नै निर्माण गर्न थालेको भन्दै त्यसले थप डुबान हुने चिन्ताहरु व्यक्त भएका छन्।

स्थानीयस्तरमा विरोध शुरु भएपछि केही दिन पहिले पोखरामा दुई देशका गृह सहसचिवस्तरीय बैठकमा नेपाली पक्षले सडक निर्माणको विषयमा भारतीयपक्षसँग कुरा उठाएको थियो।

जुन बैठकमा निर्माण कार्य रोक्ने विषयमा भएको निर्णयसहितको पत्र भारतीय पक्षलाई पठाई सकिएको उक्त बैठकको नेतृत्व गरेका गृह मन्त्रालय सहसचिव लक्ष्मी ढकालले बताए।

उनले भने, “कार्यान्वयन गरिदिनका लागि हाम्रो निर्णयको प्रतिलिपि भारतीय दूतावासलाई हामीले पठाईसकेका छौँ तर जवाफ आईसकेको छैन्।”

अधिकारीहरुका अनुसार यसरी शुरुवात गरेको निर्माणको काम नेपालसँग जोडिएको सीमाको पूर्वदेखि पश्चिमसम्म पूर्याउने भारतीयपक्षको योजना छ।

प्रवाह

यसरी सडक निर्माण गरिदा नेपालबाट बग्ने साना र ठूला गरी ६० वटा नदीहरुको प्राकृतिक प्रवाह रोकिने बताइन्छ।

कतिपय सीमाविद्ले यसलाई अन्तर्राष्ट्रिय मूल्य-मान्यता विपरीत रहेको टिप्पणी गरेका छन्।

तीमध्येका एक सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन्, “अन्तर्राष्ट्रिय सन्धिहरु अनुसार पनि एक देशबाट बगेर गएको नदीको पानीको बहाव तल्लो तटीय देशले छेक्न, रोक्न मिल्दैन, छेक्ने, रोक्ने संरचना एकतर्फी रुपले बनाउन मिल्दैन।”

यस्तो निर्माणका विषयमा संयुक्त राष्ट्रसंघमा उजुरी गर्ने व्यवस्था रहेको भएपनि दुईपक्षीय छलफलबाटै पानीको प्राकृतिक प्रवाह नरोकिने व्यवस्था मिलाउनु उपयुक्त हुने श्रेष्ठको भनाई छ।