‘इस्लामलाई बदनाम गर्ने बिरुद्ध हो लडाइ’

  • 19 फेब्रुअरी 2015
इस्लामिक स्टेटका समर्थकहरु तस्वीर कपीराइट AFP
Image caption इराक र सिरियाका भूभागमा इस्लामिक स्टेट सक्रिय रहेको छ

वासिङ्टनमा तीने दिने सम्मेलनका क्रममा बोल्दै ओबामाले अल कायदा र इस्लामिक स्टेट अतिवादी इस्लामवादी समुहका नेताहरुको तिखो आलोचना गरे।

उनले अलकायदा र इस्लामिक स्टेट जस्ता समुहका नेताहरु राजनीतिक वैधताको खोजीमा रहेको बताए।

“ती समुहरुका नेताहरुले भन्ने गरेका छन् की उनीहरु इस्लामको रक्षाको निम्ति पवित्र युध्द लडिरहेका छन्।

'झुठो'

“तीनीहरु भन्ने गर्छन् अमेरिका र पश्चिमा देशहरु इस्लामविरोधी हुन्। त्यो झुठो हो।”

“तीनीहरु धार्मिक नेताहरु होइनन् तीनीहरु आतंकवादीहरु हुन्। हामी इस्लामबिरुद्ध होइन इस्लामलाई बदनाम गराउनेविरुद्ध लडाइ लडिरहेका छौं।”

ओबामाले विश्वले इस्लामिक स्टेट जस्ता समुहहरुले हिंसालाई चर्काउन र युवा, युवतीलाई अतिवाद तर्फ प्रेरित गर्नको निम्ति तोडमोड गरेका शिध्दान्तहरुको सामना गर्नु परिरहेको बताए।

उनले युवाहरुले भोगिरहेका समस्या र उनीहरुका गुनासाहरुको सम्वोधन गर्न सके मात्रै अतिवादी समुहरुप्रतिको उनीहरुको आकर्षणलाई घटाउन सकिने बताए।

सो सम्मेलनमा ६० भन्दा बढी देशका प्रतिनिधीहरुले भाग लिइरहेका छन्।

डेनमार्क फ्रांन्स र अष्ट्रेलियमा भएका अतिवादी इस्लामवादी हमलाहरुको पृष्ठभूमीमा वासिंङ्टनमा हिंसात्मक अतिवादबिरुद्धको सम्मेलनको आयोजना भएको हो।