'स्वाइन फ्लु विरुद्धको तयारी अपर्याप्त'

  • 20 फेब्रुअरी 2015
Image caption स्वाइन फ्लुबाट बच्न मुख छोप्न, हात नमिलाउन चिकित्सकहरुको सुझाव छ

भारतबाट स्वाइन फ्लु भित्रिने जोखिम रहे पनि नेपालमा त्यससँग जुध्न पर्याप्त स्रोत साधनको अभाव रहेको अधिकारीहरुले बताएका छन्।

स्वाइन फ्लुले छिमेकी भारतमा झण्डै साढे ६ सय मानिसको लिइसकेको छ भने १० हजार भन्दा बढी संक्रमित भएका छन्।

नेपालमा उक्त रोगको संक्रमण भएमा औषधी तथा अस्पतालमा शैयाको अभाव हुने अधिकारीहरुको चिन्ता छ।

अभाव

भारतका कतिपय स्थानमा एक प्रकारको रुघा जस्तो रोग स्वाइन फ्लु महामारीको रुपमा देखिइरहँदा नेपालमा उक्त रोगका विरामीहरु अस्पतालमा भर्ना नभैसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

तर भारतसँगको खुल्ला सिमानाका कारण नेपालमा पनि यो रोग फैलन सक्ने जोखिम रहेको उनीहरु बताउँछन्।

इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बाबुराम मरासिनी भन्छन्, “ठुलो संख्यामा विरामी आए भने गाह्रो छ, हामीलाई। राख्ने ठाउँ सरकारी अस्पतालहरुमा छैन। औषधी लगायत अरु उपकरणहरुको पनि कमी छ। वजेटको पनि अभाव छ।”

मरासिनीले भारतका विभिन्न नाकाहरुबाट भित्रिने मानिसहरुको स्वास्थ्य जाँच गरेर मात्रै नेपाल छिर्न दिन आवश्यक जनशक्ति र वजेटको व्यवस्था गर्न नसकिएको बताए।

योजना

यद्यपी स्वाइन फ्लुको समस्या देखिए उपचारको लागि जनशक्ति र वैकल्पिक स्थानको तयारी भईरहेको उनको भनाई छ।

“मेडिकल अस्पतालहरुमा सयौं शैयाहरु खाली भएको हुनाले उनीहरुसँग सहकार्य गरेर काम गर्ने योजना बनाईरहेका छौं। महिना दिन यता काठमाण्डूमा मात्रै चार सयजना स्वास्थ्यकर्मीहरुलाई तालिम दिइसकेका छौं। अञ्चल अस्पताल, क्षेत्रीय तथा उप-उपक्षेत्रीय अस्पतालहरुमा पनि तालिम दिइसकेका छौं।” उनले भने।

स्वाइन फ्लु लाग्दा रुघाखोकी, कडा ज्वरो, झाडा पखाला जस्ता लक्षण देखिने र रोगको शंका लागे स्वास्थ्य संस्थामा जचाई हाल्न चिकित्सकहरुले सुझाएका छन्।

समयमै उपचार गरे रोग निको हुने उनीहरुको भनाई छ।

नेपालमा स्वाइन फ्लुका कारण सन् २०१४ सम्म १८ जनाको ज्यान गएको र झण्डै तीन सय जनामा रोगको संक्रमण देखिएको महाशाखाले जनाएको छ।