युक्रेनमा युद्धविराम भए पनि रोकिएन बमबारी

  • 19 फेब्रुअरी 2015
तस्वीर कपीराइट Reuters
Image caption बिहीबार युद्धविराम घोषणा भएदेखिनै त्यहाँ त्यसको उल्लंघन भइरहेका छन्

सरकारी फौज तथा रुस समर्थित विद्रोहीहरुमाझ औपचारिक युद्धविराम भएता पनि पूर्वी यूक्रेनका थुप्रै स्थानहरुमा व्यापक बमबारी भएका खबर आएका छन्।

उक्त क्षेत्रको सबभन्दा ठूलो शहर डोनेत्स्कमा बमबारीका आवाज सुनिएका छन्।

रुस, यूक्रेन, फ्रान्स र जर्मनीका नेताबीच थप फोन सम्वाद भइरहँदा लडाईं चर्किएका छन्।

डोनेत्सक शहरमा भएका ताजा लडाईंहरुमध्ये अधिकांश विमानस्थल वरपर भएका छन्।

सम्झौता

डोनेत्स्कमा रहेका बीबीसीका इयान प्यानेल भन्छन् हमला दुवै तर्फबाट भइरहेका देखिन्छ।

तर त्यो पुष्टी भने गर्न सकिएको छैन।

उक्त क्षेत्रको दक्षिणतर्फ रहेको गाउँमा पनि हमला गरेर विद्रोहीहरुले एक सैनिक मारिदिएको युक्रेनी फौजले जनाएको छ।

युद्धविरामको पर्यवेक्षण गर्ने जिम्मा पाएको अर्गनाइजेशन फर सेक्युरिटि एन्ड कोअपरेशनले डेबाल्टसेभा शहर नजिकै पनि बमबारी भएको खबर आएको बताएको छ।

तर सो ठाउँमा पर्यवेक्षकहरु पुग्न भने सकेका छैनन्।

बिहीबार युद्धविराम घोषणा भएदेखिनै त्यहाँ त्यसको उल्लंघन भइरहेका छन्।

जस कारण रुस युक्रेन फ्रान्स र जर्मनीका नेताहरुबीच फोनमा थप सम्वाद भए।

उनीहरुले नै गत बिहीबार बेलारुसको राजधानी मिन्स्कमा नयाँ युद्धविरामको सम्झौता गरेका थिए।

अस्वीकार

ताजा फोन सम्वादपश्चात फ्रेन्च राष्ट्रपति कार्यालयले सबै नेताहरुले मिन्स्कमा सम्झौता गरिएबमोजिम युद्धविराम पूर्ण लागु गर्न गराउन आव्हान गरेको बताएको छ।

बुधबार डेबाल्टसेभाबाट आफ्ना फौज फिर्ता गरेपछि यूक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले त्यहाँ युद्धविराम लागु गराउन राष्ट्रसंघको म्यान्डेट प्राप्त शान्ति सेना खटाउन पर्ने बताए।

तर राष्ट्रसंघका लागि रुसी राजदूत भिटाली चुर्किनले उनको भनाईलाई विध्वंसात्मक हुने भन्दै अस्वीकार गरे।

पोरोशेन्कोले मिन्स्क सम्झौता भत्काउन खोजेको उनको पछिल्लो टिप्पणीले संकेत गर्ने चुर्किनले बताए।

डेबाल्टसेभाबाट आफ्ना फौज संगठितरुपमा फर्काइएको पोरोशेन्कोले बताएका थिए।

तर पनि त्यस दौरान कम्तीमा ६ जना सेना मारिएको र १०० भन्दा धेरै घाइते भएको उनले स्वीकार गरे।

विद्रोहीका प्रवक्ताले भनेका छन् सो शहर अब पूरै उनीहरुको नियन्त्रणमा छ।

३ सय भन्दा बढी सरकारी फौजलाई युद्धबन्दी बनाइएको उनले जनाए।