ग्रीस संकटबारे तिब्र कुटनैतिक पहलहरु

  • 20 फेब्रुअरी 2015
ग्रीसका प्रधानमन्त्री र अर्थ मन्त्री तस्वीर कपीराइट AP
Image caption ग्रीस मितव्ययितामा जोड दिने सम्झौताको नबिकरण गर्ने पक्षमा देखिएको छैन

जर्मनीका अर्थ मन्त्रीले ग्रिसको युरोजोन ऋण कार्यक्रमलाई छ महिना थप्ने प्रस्ताव अस्वीकार गरेपछि तिब्र कुटनैतिक प्रयासहरु शुरु भएका हुन्।

ग्रिक प्रधानमन्त्रीले जर्मनीकी चान्सलरसंग टेलिफोनका कुरा गरेका छन् जसलाई ग्रिक अधिकारीहरुले सकारात्मक भनेको बताइएको छ।

ग्रिक प्रधानमन्त्री एलेक्सीस् सिप्रास र युरोपेली आयोगका प्रमुख जन क्लाड युन्करबीच पनि नयाँ सहमति जुटाउने विषयमा कुराकानी गरेका छन्।

युरोपेली आयोगले ग्रिसको प्रस्तावलाई सकारात्मक भनेको छ।

रस्साकस्सी

पछिल्लो प्रस्तावबारे इयुका प्रवक्ताले भने, "हाम्रा प्रमुख युन्करले यो प्रस्तावलाई सकारात्मक मानेका छन्। उहाँका विचारमा युरो क्षेत्रमा वित्तिय स्थीरता कायम गर्न ग्रिसको प्रस्तावले सहि बाटो देखाउन सक्छ।"

तर जर्मन अर्थ मन्त्रीले ग्रिक प्रस्ताव अस्वीकृत गरिदिए।

उनले पूर्व शर्तहरुको पालना हुनु पर्ने र आपसी विश्वास खलबलिन नहुनेमा जोड दिए।

ग्रिसले छ महिनाको लागि सहयोगको एक प्याकेज मागिरहेको छ।

उ यस अघिका मितव्ययितामा जोड दिने सम्झौताको नबिकरणको पक्षमा देखिएको छैन।

जर्मनीका अर्थ मन्त्रालयका एक प्रवक्ताले ग्रिसको नयाँ अनुरोध समाधानमुखी ठोस प्रस्ताव नभएको बताए।

रोएटर्स समाचार संस्थाका अनुसार पछिल्लो गतिरोधका माझ ग्रिक प्रधानमन्त्री एलेक्सीस् सीप्रासले जर्मन चान्सलर एन्गेला मर्कल सँग टेलिफोनमा कुराकानी गरे।

पचास मिनट लामो सो कुराकानी सकारात्मक भएको एक ग्रिक अधिकारीले बताए।

एथेन्स स्थित बीबीसीका मार्क लोवेन भन्छन् ग्रिक प्रस्तावप्रतिको जर्मनीको अस्वीकृतीले ब्रसेल्स र बर्लीनबीचको उच्च तहको विभाजन छर्लङ्ग पारिदिएको छ।

उनी भन्छन् त्यसैले ग्रिसको विषयमा कुनै सहमतिको संभावनामा फेरि प्रश्न चिन्ह लागेको छ।