दिनदिनै कम्तिमा एउटा झोलुङ्गे पुल बनाइने

  • 21 फेब्रुअरी 2015
Image caption पुल नहुँदा तुइन र तार-पुलबाट यात्रा गर्दा दुर्घट्नामा भइ ज्यान समेत जाने गरेको छ

देशका दुर्गम स्थानमा तुइनमा झुण्डिएर तथा घण्टौं हिडेर खोला तर्नु पर्ने बाध्यता अन्त्य गर्न अबको पाँच बर्षमा थप २५ सय झोलुङ्गे पुल निर्माण गरिने अधिकारीहरुले बताएका छन्।

पुराना भएका ८ सय भन्दा बढी झोलुङ्गे पुलहरुको पनि पुनर्निमाण गरिने संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले जनाएको छ।

उक्त परियोजना अन्तर्गत कुल १० अर्ब रुपैँया खर्च लाग्ने अनुमान छ।

निर्माण

सन् २००९ देखि ग्रामीण क्षेत्रमा झोलुङ्गे पुल निर्माणको विशेष कार्यक्रम चलाइरहेको सरकारले उक्त योजना शुक्रवार सार्वजनिक गरेको हो।

उक्त लक्ष्य हासिल गर्न दैनिक कम्तिमा एउटा पुलको निर्माण पुरा गर्नुपर्नेछ।

सन् २०१९ सम्मका लागि अनुमोदित कार्यक्रम अन्तर्गत यो बर्ष ३ सय ७५ वटा झोलुङ्गे पुल निर्माण गरिने सचिव सोमलाल सुवेदीले बताए।

उनले भने, “हरेक वर्ष सर्भे गरेका थुप्रै योजनाहरु हामीसँग अझै पनि छन्। दिनको एउटा निर्माण गर्ने हाम्रो लक्ष्य हो।”

विस्थापित

हाल देशभरी साढे पाँच हजारभन्दा बढी झोलुङ्गे पुलहरु रहेकोमा यस कार्यक्रम अन्तर्गत आठ सय वटा पुलको पुनर्निमाण र वर्षेनी ६ हजार वटा पुलको नियमित मर्मत संभार गरिने बताइएको छ।

उक्त निर्माण कार्यबाट ३७ लाख मानिसहरुले सुरक्षित पैदल यात्रामा पहुँच पाउने अधिकारीहरु बताउँछन्।

नयाँ झोलुङ्गे पुल निर्माण गर्दा तुइनमा झुण्डिएर खोला तर्नु पर्ने बाध्यता रहेका ग्रामीण क्षेत्रहरुलाई उच्च प्राथमिकतामा राखिने सचिव सुवेदीले बताए।

“तुइनलाई विस्थापित गर्न पहिलो प्राथमिकता दिनु भनेका छौं। त्यो बाध्यता हटाउन पाँच वर्ष पनि लाग्दैन।” उनले भने।

झोलुङ्गे पुल निर्माण परियोजनाका लागि लाग्ने झन्डै खर्च मध्ये डेढ अर्ब रुपियाँ दातृनिकायहरुले उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेका छन्।