वित्तीय सुधारका योजना ल्याउंदै ग्रीस

  • 21 फेब्रुअरी 2015
तस्वीर कपीराइट AFP
Image caption यसबारे छलफल गर्न ग्रीकको मन्त्रिपरिषदको बैठक शनिबार अबेर बस्ने बताइएको छ।

ग्रीक सरकारले आफ्ना ऋणदाता मुलुकहरुलाई सोमबारसम्म बुझाउन सहमति जनाएको वित्तीय सुधारहरुको सूचीमाथि काम थाल्दैछ।

युरो मुद्रा भएका १९ वटा मुलुकको समूह युरोजोनसंग शुक्रबार भएको सम्झौताअन्तर्गत ग्रीसले त्यस्तो तयारी थालेको हो।

वित्तीय सुधारका योजनाहरु प्रस्तुत गरेपछि ग्रीसले ऋण तिर्नका लागि थप चार महिनाको समय पाउने बताइएको छ।

ती योजनाहरु ऋणदाताहरुले अनुमोदन गरेपछि मात्रै पछिल्लो सम्झौताले औपचारिकता पाउनेछ।

प्रभाव

तथापि उक्त सम्झौतापछि ग्रीक सरकार खर्चविहीन नहुने आशामा बजारमा सकरात्मक प्रभावहरु देखिएको बताइएको छ।

सम्झौता भएको एकदिनपछि शनिबार ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले त्यसलाई महत्वपूर्ण कदमका रुपमा व्याख्या गरे तर चुनौतीहरु रहेकोतर्फ सचेत गराए।

ऋणसम्झौता अनुसार बजेटमा भएका कटौती उल्ट्याउने वाचासहित गत जनवरीमा सत्तामा आएका उनले लडाइ जितेपनि युद्ध जित्न बांकी रहेको टिप्पणी गरे।

तर पछिल्लो सम्झौताका विस्तृत विवरण आइसकेका छैनन्।

कठीन

जर्मनीका अर्थमन्त्री भोल्फग्यांग स्याब्लुले ग्रीक सरकारले पछिल्लो सम्झौताबारे आफ्ना मतदातालाई बुझाउन कठिन समय झेल्नुपर्ने बताए।

तर वित्तीय सुधारका कार्यक्रमहरु ल्याउन आफूहरु दिनरात लागि पर्ने ग्रीसका अर्थमन्त्री यानिस भरउफाकिसले बताए।

उनले भने, "तिमीले केही त्याग्यौ भने हामीलाई यो देउ भन्ने रस्साकस्सीका लागि हामी आएका होइनौं। हामी यो सम्झौतालाई कसैको जीत वा हारको रुपमा हेर्न चाहन्नौं।"

विश्लेषकहरु भन्छन् यो सम्झौता विफल भए युरो मुद्राबाट ग्रीस बाहिरिने खतरा बढ्नेछ जुन कुरा ग्रीस र युरोपेली संघ टार्न चाहन्छन्।