'पहिला अनौपचारिक छलफल आवश्यक'

  • 21 फेब्रुअरी 2015
तस्वीर कपीराइट Surendra Phuyal
Image caption संविधानसभा बैठक स्थगित गरिएपनि वार्ता नहुँदा सभाध्यक्षले असन्तुष्टी प्रकट गरेका छन्

प्रधानमन्त्रीको पछिल्लो वार्ता आह्वानलाई सकारात्मक भन्दै विपक्षी मोर्चाले वार्ताको वातावरण बनाउन अनौपचारिक छलफलहरु गर्ने निर्णय गरेको छ।

वार्तामा बस्नका लागि शुक्रबार दोस्रोपटक प्रधानमन्त्रीले गरेको आह्वान औपचारिक वार्तामा बस्नका लागि पर्याप्त नभएको भन्दै अहिले वार्ता भन्दा पूर्वघोषित आन्दोलनमै बढी केन्द्रित हुने उनीहरुको निर्णय छ।

तर सत्तापक्षको भने औपचारिक वा अनौपचारिक भन्दा पनि विपक्षी मोर्चाले वार्तामा आएर सहमति खोज्नुपर्ने प्रतिक्रिया छ।

प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलन छोडी वार्तामा आउन शुक्रबार पुन:आग्रह गरेलगत्तै विपक्षी मोर्चाको नेतृत्वकर्ता एकीकृत माओवादीले संवादका लागि ढोका खुलेको प्रारम्भिक प्रतिक्रिया दिएको थियो।

अपर्याप्त

तर शनिबार विहान बसेको ३० दलीय मोर्चाले भने उक्त आह्वान सकरात्मक भएपनि पर्याप्त नभएको भन्दै तत्काल अनौपचारिक वार्तामा मात्रै केन्द्रित हुने निर्णय गरेको छ।

एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने, "अनौपचारिक, अप्रत्यक्ष रुपमा र शीर्ष तहको वार्तालाई परिणाममुखी बनाउने खालका अरु वार्ताहरु हुन्छन् र त्यसका लागि पर्याप्त गृहकार्य गरिनुपर्दछ।"

विपक्षीहरुकै शब्दमा त्यस्तो सार्थक वार्ताअघि अनौपचारिक संवाद र आन्दोलनलाई संगसंगै लैजाने निर्णय भएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले बताए।

उनले भने, "आन्दोलनलाई जोड दिन बाध्यता भएको छ, सत्तारुढ दलहरुलाई देखाइदिन चाहन्छौं कि माओवादी र तराइकेन्द्रीत दलहरु सिधिएका छैनन्।"

फागुन १६ गते काठमाण्डूमा हुने उक्त कार्यक्रमलाई विपक्षीहरुले आफ्नो शक्ति प्रदर्शनको रुपमा व्याख्या गरिरहेका बेला सत्तापक्षीय नेताहरुले पनि त्यसलाई उनीहरुको परीक्षणका रुपमा हेरिरहेको बताउने गरेका छन्।

जोड

तर प्रधानमन्त्रीको पछिल्लो आह्वानपछि पनि औपचारिक वार्तामा विपक्षी मोर्चा नबस्ने भएपछि असन्तुष्ट देखिएको सत्तापक्षले यो वा त्यो नभनी संवादमा आउनुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले भने, "त्यो वार्तालाई औपचारिक नाम दिने कि अनौपचारिक नाम दिने भन्ने तिर प्रवेश नगरिकन प्रमुख दलका प्रमुख नेताहरु वार्तामा बसेर सहमतिमा पुग्न सक्ने सम्भावना प्रशस्त छन्।"

प्रस्ताव निर्माण समिति गठन भएयता आन्दोलनमा होमिएको विपक्षी मोर्चाको आग्रहमा वार्ताको वातावरण बनाउन भन्दै १० दिन अघि संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

तर त्यसयता प्रधानमन्त्री र एकीकृत माओवादी अध्यक्षबीचको वार्ताबाहेक सत्तापक्षीय र विपक्षी दलहरुबीच औपचारिक संवाद भएको छैन।