मालदिभ्सका पूर्व राष्ट्रपति नसिद पक्राउ

  • 22 फेब्रुअरी 2015
maldives तस्वीर कपीराइट AFP
Image caption राष्ट्रपति यामिन (बीचमा) निर्वाचित भएयता मालदिभ्स राजनीतिक अस्थिरतामा फसेको छ

मालदिभ्समा प्रहरीले विपक्षी नेता एवम् पूर्व राष्ट्रपति महोम्मद नसिदलाई आतंकवादसंग सम्बन्धित अभियोगमा पक्राउ गरेको छ।

राजधानी मालेमा एउटा सरकारविरोधी प्रदर्शनको नेतृत्व गर्ने योजनामा रहेका नसिदको गिरफ्तारी उक्त विरोध कार्यक्रमको छ दिनअघि आएको छ।

एपी समाचार संस्थाका अनुसार सन् २०१२ मा आफू राष्ट्रपति हुंदा एक जना वरिष्ठ न्यायधीशलाई पक्राउ गर्न आदेश दिएको मामिलामा उनलाई पक्राउ गरिएको हो।

उक्त पक्राउ आदेशपछि मालदिभ्समा व्यापक अशान्ति भएको थियो।

प्रतिदावी

नसिद सन् २००८ मा राष्ट्रपति निर्वाचित भएका थिए।

उनी नै उक्त मुलुकका प्रथम निर्वाचित राष्ट्रपति हुन्।

उनले सेना र प्रहरीले विद्रोह गरी आफ्नो मुख्यालय कब्जामा लिंदा आफूले सन् २०१२ फेब्रुअरीमा बलजफ्ती सत्ता छाड्नुपरेको बताउंदै आएका छन्।

तर उनीपछि राष्ट्रपति बनेका महोम्मद वाहिद हसन मानिकले भने विरोध प्रदर्शनहरुपछि नासिदले आफ्नै इच्छाले सत्ता छाडेको बताउंदै आएका छन्।

वाहिद नसिदका उपराष्ट्रपति थिए।

अस्थिरता

१२ सय साना साना द्वीपले बनेको मुलुक मालदिभ्स् राष्ट्रपति पदमा अब्दुल्लाह यामिन निर्वाचित भएको १५ महिनायता राजनीतिक अस्थिरताले घेरिएको छ।

यामिनले हालै आफ्ना रक्षामन्त्रीलाई कू को षड्यन्त्र गरेको आरोपमा पदमुक्त गरिदिएका थिए।

पूर्व सैनिक अधिकारी समेत रहेका उनलाई पक्राउ पनि गरिएको छ।

विपक्षीहरुले मालदिभ्सका कम्तीमा दुईसय जना नागरिक उग्रवादी समूह इस्लामिक स्टेटमा आवद्ध हुन हालै मध्यपूर्व गएको बताएका छन्।

उनीहरुले सरकारमाथि उग्रवादलाई प्रश्रय दिएको आरोप लगाएका छन्।

सरकारले उक्त आरोपको खण्डन गरेको छ।