'सीमा नाकामा स्वाइन फ्लुको परीक्षण'

  • 23 फेब्रुअरी 2015
तस्वीर कपीराइट Reuters
Image caption नेपालमा औषधी उपकरणको अभावले नियन्त्रणमा समस्या हुने बताइन्छ

नेपालमा पाँच जनालाई स्वाइन फ्लुको संक्रमण देखिएपछि थप रोग भित्रिन नदिन यसै हप्ताभित्रै नेपाल-भारतका पाँच वटा नाकाहरुमा रोग परीक्षणको काम शुरु गरिने अधिकारीहरुले बताएका छन्।

भारतमा स्वाइन फ्लुका कारण ७ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

नेपाल-भारतबीच खुल्ला सिमानाका कारण मानिसहरु जुनसुकै स्थानबाट सजिलै आवतजावत गर्ने हुनाले एक किसिमको रुघा जस्तो रोग स्वाइन फ्लु फैलिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

झण्डै आठ दर्जन नाकाहरुबाट नियमित आवागमन हुने भएपनि त्यहाँ जनशक्ति र बजेट अभावका कारण स्वाइन फ्लुविरुद्ध काम गर्न नसकिएको अधिकारीहरुले बताउँदै आएका छन्।

परीक्षण

तर अध्यागमन विभागले काम गरिरहेको पाँच वटा प्रमुख नाकाहरु काकडभिट्टा, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र गढ्ढाचौकीमा एक हप्ताभित्रै परीक्षणको काम शुरु गरिने इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बाबुराम मरासिनीले बताए।

उनले भने, “इबोलाका लागि काम गरीरहेको जनशक्तिले नै काम शुरु गर्नेछ, सामान्य सोधपुछ गर्न चाहिँ शुरु गरेको छ तर त्यसलाई कडाई गर्न लागेका हौँ, यही हप्ताभित्र शुरु गर्छौं।”

हाल पाँच जनामा स्वाइन फ्लु देखिएको र उनीहरुको घरमै राखेर उपचार भइरहेको डाक्टर मरासिनीले बताए।

संक्रमण

“पाँच जनामा H1N1 को संक्रमण देखिएको छ, दुई जना काठमाण्डका, दुई जना पोखराका र एक जना चाहिँ चितवनका छन्,”उनले भने।

स्वाइन फ्लु लाग्दा रुघा लाग्ने, कडा ज्वरो आउने, झाडापखाला लाग्ने जस्ता लक्षण देखिने र यो रोगको उपचार गर्न सकिने हुनाले शंका लाग्ना साथ स्वास्थ्य जाँच गराईहाल्न चिकित्सकहरुले जोड दिएका छन्।

अघिल्लो वर्ष स्वाइन फ्लुका कारण नेपालमा १८ जनाको मृत्यु भएको थियो भने झण्डै तीन सय जना संक्रमित भएका थिए।