युरोपेली क्लबहरुलाई कुनैपनि क्षतिपूर्ति दिइने छैन : फिफा

  • 25 फेब्रुअरी 2015
कामदारहरु तस्वीर कपीराइट Getty
Image caption कतारमा लाखौं कामदारहरुलाई दासजस्तो वातावरणमा काममा लगाइएको आरोप लगाइएको थियो

विश्व फुटबलको शासकीय निकाय फिफाले सन् दुईहजार बाइसमा कतारमा आयोजना गरिने विश्व कप प्रतियोगिता नोभेम्बर तथा डिसेम्बर महिनामा आयोजना गर्न लागिएकोमा रुष्ट रहेका युरोपेली क्लबहरुलाई कुनैपनि क्षतिपूर्ति नदिइने घोषणा गरेको छ।

फिफाका महासचिव जेरोम भाल्कले भने, कतारको चर्को गर्मी छल्न हिउँद याममा उक्त खेल आयोजन गर्न लागिएको प्रति क्षमायाचना गर्न जरुरी छैन।

तर यसबाट युरोपेली लीगका थुप्रै खेलहरु नराम्रोसंग प्रभावित हुनेछन्।

फिफाद्वारा गठित एक कार्यदलले कतारको चर्को गर्मीका कारण विश्वकप फुटबल गर्मीयामको सट्टा हिउँदमा आयोजना गर्न सिफारिश गरेको थियो।

अनुमोदन

आउँदो महिना जुरिचमा बस्ने फिफा कार्यसमितिको बैठकले उक्त कार्यदलको सिफारिस अनुमोदन गर्नेछ।

महासचिव भाल्कले भने, “सबैभन्दा पहिले नोभेम्बर तथा डिसेम्बर महिनामा खेल आयोजना गर्दा खेलाडीहरु राम्रो अवस्थामा हुनेछन्। गर्मी यामको जस्तो उनीहरु थाकेका हुनेछैनन्। जहाँसम्म क्षतिपूर्तिको कुरा छ कुनै क्षतिपूर्ति दिइनेछैन।”

हिउँदे यामको व्यस्त समयमा विश्व कप आयोजना गरिंदा युरोपेली फुटबल प्रतिस्पर्द्धा नराम्रोसंग प्रभावित हुने युरोपेली फुटबल क्लबहरुले गुनासो गरेका छन्।

महासचिव भाल्कले सन् २०२२ को विश्व कपको अन्तिम खेल २३ डिसेम्बरमा आयोजना गरिने बलियो संभावना रहेको बताए।

असर

तर प्रिमियर लिगका मुख्य कार्यकारी रिचार्ड स्कडामोरले भने, क्रिसमसको त्यति नजीकै विश्वकप फाइनल आयोजना गरिंदा परम्परागतरुपमा चाडबाडको नजीक खेल आयोजना गर्ने क्लबहरुलाई निकै नराम्रो असर पर्नेछ।

बुधबार दोहामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै महासचिव भाल्कले युरोपेली क्लबहरुसंग क्षमा नमाग्ने पनि बताए। उनले भने, “यो एक पटक हुन लागेको हो। हामीले फुटबललाई नष्ट गर्न लागेका छैनौं।“

उनले विश्व कपकालागि निर्माणाधीन आप्रवासी कामदारहरुको स्थितिकाबारे अझै समस्याहरु रहेको तर कतारले अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्ने दिशामा थुप्रै कदमहरु चालेको पनि बताए।

आरोप

विभिन्न मानवअधिकारवादी संस्थाहरुले कतारमा निर्माण कार्यमा संलग्न नेपाल लगायतका मुलुकहरुबाट आएका लाखौं कामदारहरुलाई दासजस्तो वातावरणमा काममा लगाइएको आरोप लगाएका थिए।

उनीहरुले त्यहाँ भैरहेको सैयौं कामदारहरुको मृत्युबारे कतार सरकारले पर्याप्त ध्यान नदिएको पनि बताएका थिए।

अन्तर्राष्ट्रिय स्तरमा चर्को आलोचना भएपछि कतार सरकारले गत वर्ष कामदारहरुको स्थितिमा सुधार ल्याउन विभिन्न कदमहरु चाल्ने घोषणा गरेको थियो।

तर अझै स्थितिमा खासै सुधार नआएको विभिन्न मानवअधिकारवादी संगठनहरुले जनाएका छन्।