ग्रीसका सुधार प्रस्तावहरु स्वीकृत

  • 25 फेब्रुअरी 2015
तस्वीर कपीराइट AP
Image caption युरोजोनका वित्त अधिकारीहरुले ग्रीक सरकारको प्रस्ताव वैध प्रस्थान बिन्दु भएको बताएका छन्

ऋण मिनाहाको समयावधि चार महिना लम्ब्याउनका लागि ग्रीसले पेश गरेको सुधारका प्रस्तावहरु युरो मुद्रा प्रचलनमा रहेका मुलुकका अर्थमन्त्रीहरुले स्वीकृत गरेका छन्।

युरो समूहले भनेको छ, उक्त सम्झौतालाई अन्तिम अनुमोदन गराउनका लागि विभिन्न राज्यका संसदमा मतदान प्रक्रिया शुरु गर्न ग्रीक सरकार तयार भएको छ।

ग्रीसले प्रस्तुत गरेका प्रस्तावहरुमा कर छली रोक्ने र सार्वजनिक क्षेत्रमा सुधार गर्ने लगायतका योजनाहरु समेटिएका छन्।

तर अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुखले मुख्य क्षेत्रहरुमा ग्रीसले स्पष्ट प्रत्याभूति नगराएको बताएका छन्।

समयसीमा

ग्रीसले लिएको ऋण ३ सय ३० अर्ब युरोभन्दा बढी छ र अहिलेको २ सय ४० अर्ब युरो ऋण मिनाहाको समयसीमा शनिबार सकिदैछ।

ग्रीसका प्रस्तावहरु विस्तृत रुपले अनुमोदन नहुञ्जेल उसले थप सहायता नपाउने बताइएको छ।

एथेन्सस्थित प्रमुख स्टक बजारमा मंगलबार अपरान्ह करिब १० प्रतिशतले वृद्धि भएको थियो।

यो तीन महिनायताकै उच्च भएको बताइएको छ।

तस्वीर कपीराइट AFP
Image caption ग्रीक अर्थमन्त्री यानिस भारुफाकिसले अन्तिम समयमा सहमति हुने बताएका थिए

युरो समूहले विज्ञप्तिमार्फत भनेको छ, “संस्थाहरुसंगको समन्वयमा सुधारका कदमहरुको सूचीलाई थप विकसित र विस्तृत बनाउन हामीले ग्रीक सरकारलाई आग्रह गरेका छौँ।”

संकट

युरोपेली आयोग र युरोपेली केन्द्रीय बैंक दुवैले ग्रीसको प्रस्ताव उनीहरुकै शब्दमा वैध प्रस्थान बिन्दु भएको बताएका छन्।

युरोपका वित्त अधिकारीहरुले भनेका छन्, ग्रीसको ऋणसंकट बारेको प्रस्ताव युरो समुहले स्वीकृत गरेकाले ग्रीसमा तत्कालको आर्थिक संकट टरेको छ।

आर्थिक मामिलासम्बन्धी युरोपेली आयुक्त पिएर मोसकोभीसीले पछिल्लो सम्झौताबाट तत्काल निम्तिन सक्ने संकट टरेको टिप्पणी गरे।

ग्रीसको अर्को ठूलो दाता अन्तर्राष्ट्रिय मुद्रा कोषले सावधानीपूर्वक प्रतिक्रिया दिँदै ग्रीक सरकारले उसका वाचा कसरी पुरा गर्ला भन्ने कुराको विस्तृत विवरण र प्रतिबद्धताको कमी रहेको बताएको छ।