'बन्धकहरुको टाउको काट्ने उग्रवादीको पहिचान'

  • 26 फेब्रुअरी 2015
तस्वीर कपीराइट BBC World Service
Image caption अघिल्लो महिना टाउको काटिएको भिडियोमा एकजना जापानी पत्रकारलाई मारिएको देखाइएको थियो

इस्लामिक स्टेट उग्रवादीहरुले पश्चिमा बन्धकहरुको टाउको काटेर ज्यान लिएको भिडियोहरुमा देखिने कालो कपडा र मुकुन्डो लगाएका तथा सञ्चार माध्यमले 'जिहादी जोन' भनेर नाम दिएका व्यक्तिको पहिचान खुलेको छ।

उनको वास्तविक नाम मोहम्मद एमवाजी भएको र उनी कुवेतमा जन्मिएका ब्रिटिश नागरिक भएका बुझिएको छ।

मोहम्मद एमवाजी गत अगस्टमा उनले अमेरिकी पत्रकार जेम्स फोलीको हत्या गरेको जस्तो देखिने भिडियोमा पहिलो पल्ट देखा परेका थिए।

त्यसपछि अमेरिकी पत्रकार स्टीभन सोटलफ, ब्रिटिश सहायताकर्मी डेभिड हेन्स, ब्रिटिश ट्याक्सी ड्राइभर एलन हेनिंग र अमेरिकी सहायता कार्यकर्ता अब्दुल रहमान काशिगको टाउको काटिएका भिडियोहरुमा पनि उनी देखिएका ठानिएको छ।

कटाक्ष

ती प्रत्येक भिडियोहरुमा ती उग्रवादीले पुरै जीउ ढाक्ने कालो कपडा लगाएका र अनुहार पनि मुकुण्डोले छोपेका थिए।

ब्रिटिश लवजमा अंग्रेजी बोल्दै उनले आफ्ना बन्धकहरुको घांटीमा छुरी तेर्साउंदै पश्चिमा शक्तिहरुलाई कटाक्ष गर्ने गर्दथे।

त्यसपछि घांटी रेट्दै गर्दा भिडियो दृश्य रोकिने र अर्का दृश्यमा बन्धकको मृत शरीरको दृश्य देखिन्थ्यो।

इस्लामिक स्टेटले मुक्त गरेका केही बन्धकहरुका अनुसार आइएसले सिरियामा बन्धक बनाएका पश्चिमा बन्धकहरुलाई निगरानी गर्ने चार जना ब्रिटिश जिहादीहरु मध्ये मोहम्मद एमवाजी पनि एक हुन्।

बीबीसी सम्बाददाता डोमिनीक कासीयानी भन्छन्, ब्रिटिश र अमेरिकी सुरक्षा सैन्यले ती मुकन्डोधारीको नाम र उनको लण्डनको ठेगानाका बारे कहिले थाहा पाएका हुन् भन्ने यकीन जानकारी भैसकेको छैन।

एमवाजी सन् २०१० तिर नै ब्रिटिश गुप्तचर निकाय एमआइ फाइभको निगरानीमा रहेको थाहा भएको छ।