नेतन्याहु-अमेरिकाबीच मतभेद गहिरिँदो

  • 26 फेब्रुअरी 2015
तस्वीर कपीराइट Getty
Image caption अमेरिकी कंग्रेसलाई संबोधन गर्ने नेतन्याहुको निर्णयबाट ओबामा प्रशासन चिढिएको बताइन्छ

इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र ओबामा प्रशासनबीचको मतभेद पछिल्लो समय गहिरिँदै गएको बताइएको छ।

नेतन्याहुले इरानलाई परमाणु हतियार निर्माण गर्नबाट रोक्ने प्रयास अमेरिका र अन्य शक्ति राष्ट्रहरुले त्यागेको आरोप लगाएका छन्।

अमेरिकी विदेशमन्त्री जोन केरीले इरानको परमाणु कार्यक्रमबारे नेतन्याहुको निर्णयमाथि प्रश्न गरेका छन्।

रिपब्लिकन नेताहरुले आगामी साता अमेरिकी कंग्रेसलाई संबोधन गर्नका निम्ति इजेरली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुलाई निम्त्याएका छन्।

क्रुद्ध

रिपब्लिकनहरुको उक्त कदमबाट डेमोक्र्याट्सहरु क्रुद्ध बनेको बताइएको छ।

ह्वाइट हाउसका एकजना प्रवक्ताले अमेरिकी-इजरेली सम्बन्धलाई एउटा पार्टीको राजनीतिमा सीमित नगर्न चेतावनी दिएका छन्।

त्यसअघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुजन राइसले नेतन्याहुको भ्रमण उनकै शब्दमा द्वीपक्षीय सम्बन्धका निम्ति विध्वंशात्मक भएको बताइएकी थिइन्।

तस्वीर कपीराइट AFP
Image caption अमेरिका-इरानले सहमतिका लागि गरिरहेको प्रयासप्रति इजरेल रुष्ट रहेको बताइएको छ

पीबीसी टेलिभिजनलाई उनले भनिन्, “हामी चाहन्छौँ दुवै देशमा जुनसुकै राजनीतिक दल सत्तामा आएपनि आपसी सम्बन्ध प्रश्न नै गर्न नसकिने गरी बलियो र अपरिवर्तनीय रहोस्।”

नजरअन्दाज

आफ्ना कदमको बचाउ गर्दै नेतन्याहुले राइसको भनाईप्रति प्रतिक्रिया दिएका छन्।

उनले भने, “अहिले हुन लागेको सहमतिबारे चिन्ता गर्नुपर्ने थुप्रै कारणहरु छन्, विश्व शक्तिहरुले इरानलाई परमाणु हतियार निर्माण गर्नबाट रोक्नुपर्ने कुरालाई नजरअन्दाज गरिरहेका छन्।”

अमेरिका र अन्य मुलुकहरुले केही वर्षभित्र इरानले क्रमिक रुपमा कयौं परमाणु हतियारका लागि आवश्यक सामग्री निर्माण गर्ने क्षमताको विकास गरोस् भनी चाहेको नेतन्याहुको भनाई छ।

उनले भने, “म अमेरिका र अमेरिकी राष्ट्रपतिको सम्मान गर्छु तर हामी रहने वा नरहने निर्धारण गर्न सक्ने मुद्दा आएको खण्डमा त्यस्तो ठूलो खतराबाट इजरेललाई जोगाउन मैले केही गर्नैपर्छ।”