अर्जेन्टिनी राष्ट्रपतिविरुद्धको आरोप खारेज

  • 27 फेब्रुअरी 2015
तस्वीर कपीराइट AP
Image caption राष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई तत्काल केही राहत भएपनि मुद्दाको अन्त्य नभएको बताइएको छ

अर्जेन्टिनाका एकजना संघीय न्यायाधीशले त्यहाँकी राष्ट्रपति र उनका विदेशमन्त्रीमाथि विशेष अभियोजनकर्ताले लगाएको एउटा कानुनी आरोप खारेज गरिदिएका छन्।

राष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनर र उनका विदेशमन्त्रीमाथि एउटा यहूदी केन्द्रमा गराइएको बम आक्रमणमा इरानको भनिएको संलग्नतालाई ढाकछोप गरेको आरोप लगाइएको थियो।

सन् १९९४ मा एउटा यहूदी केन्द्रमा गराइएको बम आक्रमणमा इरानको भनिएको संलग्नतालाई ढाकछोप गर्न गैरकानुनी रुपमा राष्ट्रपति र उनका विदेशमन्त्रीले षड्यन्त्र गरेको भन्दै नवनियुक्त विशेष अभियोजनकर्ताले मुद्दा चलाइनुपर्ने माग गरेका थिए।

आफ्ना पूर्ववर्ती अल्बर्टो निस्मान आफ्नै निवासमा मृत फेला परेपछि मुद्दाको जिम्मेवारी नयाँ अभियोजनकर्तामा आइपुगेको थियो।

प्रमाण

यहूदी केन्द्रमा गराइएको बम आक्रमणमा ८५ जनाको ज्यान गएको थियो।

संघीय न्यायाधीशले राष्ट्रपति र विदेशमन्त्रीमाथि लगाइएको आरोपलाई अगाडि बढाउनका निम्ति आवश्यक प्रमाणहरु नदेखिएको बताएका छन्।

तस्वीर कपीराइट Reuters
Image caption अल्बर्टो निस्मानको मृत्युबारे छानबिन हुनुपर्ने माग गर्दै प्रदर्शन हुँदै आएका छन्

निस्मानले पेश गरेका ३ सय ५० पृष्ठ लामो प्रतिवेदनमा सरकारी अध्ययन नसमेटिएको र उनको निष्कर्षलाई पुष्टि गर्ने न्यून्तम मापदण्डहरु पनि नभएको न्यायाधीशले ठहर गरेका छन्।

राजनीतिकरण

तर योसँगै उक्त मुद्दा अन्त्य नभएको बताइएको छ।

निस्मान किन र कसरी मारिए भने अहिलेसम्म थाहा हुन सकेको छैन्।

निस्मानको छेउमा बन्दुक भेटिएको थियो र उनको टाउकोमा एउटा गोली पनि लागेको थियो।

अर्जेन्टिनाको न्याय प्रणालीमा निकै राजनीतिकरण भएको बताइन्छ र राष्ट्रपतिविरुद्ध अनुसन्धान गर्न नपर्ने निर्णय निकै विवादित बनेको छ।