समयमै 'गल्ती सच्याउन' प्रचण्डको चेतावनी

  • 28 फेब्रुअरी 2015
Image caption मोर्चाले वार्ताका लागि सत्ताधारी दलले वातावरण नबनाए आफूहरु अर्को चरणको आन्दोलन घोषणा छिट्टै गर्ने बताएको छ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बहुमतीय प्रक्रिया खारेज गरेर सहमतिबाट संविधान जारी गर्ने सुनिश्चित नगरे काँग्रेस र एमालेले गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन्।

दशौं हजार सहभागी ३० दलीय मोर्चाको सभालाई संवोधन गर्दै प्रचण्डले सहमतिको वातावरण नबनाए जिल्ला-जिल्ला कब्जा गर्ने चेतावनी दिए।

सभामा बोल्ने मोर्चाका अन्य नेताहरुले विगतमा भएका सहमतिको उल्लङ्घन भएको भन्दै आन्दोलनले नै देशमा संविधान जारी हुने धारणा राखेका थिए।

सतारुढ दलहरुले आफुहरुलाई पाखा लगाएर बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्न खोजेको भन्दै संविधानसभाको बैठक बहिस्कार गरेर आन्दोलनमा हिँडेको विपक्षी मोर्चाले शनिबार खुल्ला मञ्चको सभालाई खबरदारी सभाको संज्ञा दिएको थियो।

चेतावनी

नारा जुलुस र विभिन्न जातजातिका झाँकी सहित देशका विभिन्न भागबाट दशौं हजारको संख्यामा आएका मानिसहरु देखेर निकै उत्साही बनेका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफुहरुले गल्ती नगरेको भन्दै सत्तारुढ दलहरुले, उनकै शब्दमा, बेलैमा गल्ती नसच्याए गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिए।

उनले भने, "तपाईहरुले अझै पनि समय छँदै यो कथित बहुमतीय प्रक्रिया खारेज गर्नुहोस, त्यसलाई रोक्नुहोस, संवाद समितिबाटै समस्याको हल गर्ने बाटोमा फेरी फर्किनुहोस, वार्ता सजिलै सुरु हुन सक्छ।"

तर त्यसो नगरिए आफुहरुले दोस्रो चरणको आन्दोलन शुरु गर्ने र जिल्ला-जिल्ला कब्जा गर्ने उनले चेतावनी दिए।

उनले भने, "यदि उनीहरु हामी अगाडि जान्छौं जान्छौं भनेर आए भने अबको कार्यक्रम काठमाडौंमा खवरदारीसभाको रुपमा हुने छैन, जिल्ला जिल्लामा जनताले कब्जा गर्न थाल्ने छन्।"

आफूले मध्यमार्गीधार अपनाएर सहमतिको प्रयास गरेको बताएका मोर्चाका अर्का नेता बिजय गच्छेदारले वार्ताबाटै समाधान खोज्नु पर्ने बताएका थिए।

तर त्यही मोर्चामा रहेका तराई केन्द्रित दलका अन्य नेताहरुले भने वार्ताले अधिकार सहितको संविधान नदिने भन्दै आन्दोलनबाटै संविधान जारी गर्नु पर्ने धारणा राखेका थिए।

आरोप

मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसंगै लय मिलाउँदै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, "प्रचण्डजी तपाई पनि सुनिहाल्नुहोस सहमतिका लागि जे-जे गर्नु छ यही बीचमा गरिहाल्नुहोस्। सहमतिको आधारमा बनाउन सक्दैन र आन्दोलन शुरु भइहाल्यो भने नेपाली जनताले सडकबाटै संविधान जारी नगरी रोक्नेवाला छैन।"

मोर्चामै आवद्ध संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईसहितका कतिपय नेताहरुले सभालाई सम्बोधन गर्दै सत्तापक्षीय दलहरुले विगतका सम्झौता उल्लंघन गरेको र आदिवासी जनजाति तथा उत्पीडित वर्गलाई अधिकार दिन नखोजेको आरोप लगाएका थिए।

सभामा पुग्नुअघि राजधानीका विभिन्न भागबाट जुलुस आउने क्रममा बानेश्वरमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो।

निषेधित क्षेत्र तोड्ने क्रममा भएको उक्त झडपमा आफ्ना १ सय ५० भन्दा बढी कार्यकर्ता घाइते भएको मोर्चाले बताएको छ।