आइएसविरुद्ध टिक्रिटमा इराकी कारवाही

  • 2 मार्च 2015
तस्वीर कपीराइट Reuters
Image caption टिक्रिट शहरलाई गएको गर्मीयाममा इस्लामिक स्टेट उग्रवादी समूहले कब्जामा लिएको थियो।

इराकी सरकारले टिक्रिट शहरमाथि पुन: नियन्त्रण कायम गर्ने प्रयासमा आफ्ना सैनिकले एउटा ठूलो कारवाही गरिरहेको बताएको छ।

उत्तरी प्रान्त सलाउद्दीनको राजधानी रहेको उक्त शहरमा गएको गर्मीयाममा इस्लामिक स्टेट उग्रवादी समूहले कब्जा जमाएको थियो।

जेट विमान र हेलिकप्टरहरु परिचालन गरेर अघि बढाइएको कारवाहीमा झन्डै ३० हजार सैनिक परिचालन गरिएको इराकी सरकारले जनाएको छ।

हमला

विमानको बम वर्षाका माझ इराकी सैनिक र मिलिसियाहरुले विभिन्न मोर्चाबाट हमलाहरु गरिरहेको जनाइएको छ।

सरकारी सैनिकहरुले आफूहरु उक्त शहरको केन्द्रबाट ५ किलोमिटर पर रहेको जानकारी दिएको बग्दादबाट बीबीसीका अहमद मिरले बताए।

तर त्यसको स्वतन्त्र पुष्टि भैसकेको छैन।

राजधानी बग्दादबाट झन्डै डेढ सय किलोमिटर उत्तरमा रहेको टिक्रिटमाथि गएको जुनमा इस्लामिक स्टेटले कब्जा जमाएको थियो।

अल इराकिया टेलिभिजन च्यानलका अनुसार सलाहउद्दिन प्रान्तको टिक्रिट बाहिरका स्थानबाट आइ एस उग्रवादीहरु लखेटिएका छन्।

आइतबार अबेर उक्त आक्रमण शुरु गर्नु अघि प्रधानमन्त्री हैदर अल अबादीले सलाहुद्दिन प्रान्तका सैनिक नेताहरुसँग छलफल गरेका थिए।

मौका

सुन्नी जातीय नेताहरुलाई झुक्याएर प्रयोग गरिएको भन्दै हतियार छाड्ने अन्तिम मौका दिएको उनले बताएका थिए।

विगतमा पनि टिक्रिटमाथि नियन्त्रण कायम गर्न कारवाहीहरु अघि बढाइए पनि ती विफल हुँदै आएका थिए।

पूर्व राष्ट्रपति सद्दाम हुसेनको जन्मस्थान रहेको टिक्रिटको सांकेतिक महत्व रहँदै आएको छ।

सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणको आठ महिनापछि हुसेन दक्षिणी टिक्रिटमा लुकिरहेको अवस्थामा फेला परेका थिए।

यदि जारी सैनिक कारवाही सफल भएमा इराकी फौज र उसका समर्थकहरुको चुनौती उत्तरमा इस्लामिक स्टेटले कब्जा गरेको मोसुल शहरमाथि पुन: आफ्नो नियन्त्रण जमाउनु हुनेछ।