विपक्षी नेता बोरिस नेम्तसोभ समाधिस्थ

  • 3 मार्च 2015
तस्वीर कपीराइट AP
Image caption नेम्तसोभका समर्थकहरुले उनको हत्यामा क्रमेलिनको संलग्नता रहेको आरोप लगाएका छन्

रुसमा हत्या गरिएका एकजना विपक्षी नेता बोरिस नेम्तसोभलाई राजधानी मस्कोको दक्षिण पश्चिमस्थित एउटा समाधिस्थलमा समाधिस्थ गरिएको छ।

त्यसअघि शुक्रबार राती क्रेमलिन नजीकै गोली हानी मारिएका ति नेतालाई हजारौं शोकाकुल समर्थकहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।

हजारौं रुसीहरुले हत्या गरिएका विपक्षी नेता बोरिस नेम्तसोभलाई अन्तिम विदाई गरेका थिए।

मस्कोको एउटा समाधिस्थलमा लगिनु अघि उनको शव राखिएको बाकसमा श्रद्धाञ्जली ब्यक्त गर्न मानिसहरुको लामो तर शान्त लाम लागेको थियो।

उल्लंघन

युरोपिय संघका कतिपय राजनीतिज्ञहरु र रुसका विपक्षी नेताहरुलाई उक्त अन्त्येष्टि समारोहमा सहभागी हुन दिइएको थिएन।

युरोपेली आयोगकी प्रवक्ताले त्यस्तो कदमको निन्दा गर्दै त्यो, उनकै शब्दमा, आधारभूत मान्यताहरको स्पष्ट उल्लंघन भएको बताएकी छिन्।

राष्ट्रपति पुटिनले पनि अन्त्येष्टि समारोहमा सहभागीता जनाएनन्।

राष्ट्रपति पुटिनका एकजना कडा आलोचकका रुपमा चिनिएका नेम्तसोभलाई शुक्रबार राती क्रेमलीन नजीकैको एउटा पुलमा गोली हानि मारिएको थियो।

उक्त स्थान देशको सबैभन्दा सुरक्षीत ठाउं हुनु पर्ने थियो तर घटनाको तीन दिन भैसक्दा पनि प्रहरीले हत्याको संदिग्ध व्यक्ति, प्रयोग भएको हतियार वा आक्रमणकारीले भाग्न प्रयोग गरेको कारका बारेमा समेत कुनै सुईंको पाउन सकेको छैन।

आरोप

रुसी राजधानीको केन्द्रमा नै नेम्तसोभको हत्या किन भयो भन्ने बारेमा केहि कुरा थाहा हुन सकेको छैन।

सन् १९९० को दशकमा एकजना युवा सुधारवादी नेताका रुपमा नेम्तसोभको राजनीतिक उदय भएको थियो।

हालैका बर्षहरुमा भने उनले भ्रष्टाचारका घटनाहरुको पर्दाफास गर्ने र युक्रेनमा जारी युद्धको विपक्षमा आफ्नो धारणा राख्‍ने गरेका थिए।

नेम्तसोभले गत आइतबार मस्कोमा एउटा ठूलो -यालीको अगुवाई गर्ने कार्यक्रम रहेको थियो।

उनका समर्थकहले उनको हत्यामा क्रेमलीनको संलग्नता रहेको आरोप लगाएका छन्।

तर राष्ट्रपति पुटिनले सो हत्याको घटनाको निन्दा गर्दै त्यसका लागि जिम्मेवारहरुलाई पक्रने प्रतिबद्धता जनाएका छन्।