'परमाणु वार्ताबारेको गोपनीयता भङ्ग नहोस्'

  • 3 मार्च 2015
नेतान्याहु तस्वीर कपीराइट Reuters
Image caption नेतान्याहु परमाणु सम्झौताले इजरेललाई संकटमा पार्नेबारे अमेरिकी कंग्रेसमा बोल्नेछन्

अमेरिकी विदेशमन्त्री जन केरिले इजरेलले इरानको परमाणु कार्यक्रमबारेका गोप्य विवरण चुहाएमा इरानसँग जारी वार्ताहरु प्रभावित हुन सक्ने बताएका।

केरिले इरानी परमाणु कार्यक्रमबारे स्वीट्जरल्याण्डमा इरानी समकक्षीसँग महत्वपूर्ण वार्ता गर्दैछन्।

इजरेली प्रधानमन्त्री वेन्जमिन नेतान्यहुले इरानसँगको सम्भाव्य सम्झौताले कसरी इजरेलको अस्तित्वलाई नै संकटमा पार्ने छ भन्ने कारण खुलाउँदै अमेरिकी कंग्रेसलाई सम्वोधन गर्ने कार्यक्रम छ।

उनको सम्वोधन अघि केरिको पछिल्लो चेतावनी आएको हो।

'विश्वासको संकट'

अमेरिकी विदेश मन्त्रालयले यदि कुनै गोप्य जानकारी सार्वजनिक गरिए त्यसले इजरेल र अमेरिकाबीच विश्वासको संकट उत्पन्न गर्ने बताएको छ।

इजरेल इरानी परमाणु कार्यक्रमको विरोधी रहँदै आएको छ।

इजरेलका अर्थमन्त्री नाफटाली बेनेटले इजरेलसँगको कुनै पनि सहमति भूल हुने बताए।

इरान अन्तर-महादेशीय क्षमताको क्षेप्यास्त्र बनाउने तयारीमा लागेको बताउँदै उनले भने, “इरानसँगको परमाणु सम्झौता अमेरिकाको लागि नै घातक हुन सक्छ, किनभने इरान अन्तर-महादेशीय क्षमता भएको क्षेप्यास्त्र बनाउने तयारीमा छ।"

“उनीहरुलाई त्यो रियाद र टेलअभिभको लागि चाहिएको होइन उनीहरुलाई त्यो न्युयोर्क र लण्डनको लागि चाहिएको हो, हामीले किन उस्लाई त्यसो गर्न दिने?”

केरि र उनका इरानी समकक्षी मोहम्मद जावेद जारिफले स्वीट्जरल्याण्डमा परमाणु कार्यक्रमबारे नयाँ चरणको वार्ता शुरु गरेका छन्।

त्यहाँ रहेका बीबीसीका एक सम्बाददाता भन्छन्, वार्ताप्रति ब्यग्रता देखिएको छ, तर सहमति निर्माणको लागि दुबै पक्ष लचिलो हुन आवश्यक छ।