बोस्टन म्याराथन विष्फोटबारे सुनुवाई शुरु

  • 5 मार्च 2015
तस्वीर कपीराइट AP
Image caption सारनाएफका वकिलहरुले आफ्ना दाजुको प्रभावमा आएर उनी आक्रमणमा संलग्न भएको बताएका छन्

अमेरिकाको बोस्टन म्याराथनमा बम विष्फोट गराएको आरोप लागेका एकजना व्यक्तिविरुद्ध मुद्दाको सुनुवाई शुरु भएको छ।

आरोपीकी वकिलले उनले गल्ती गरेको स्वीकारेको बताइन्।

आरोपी जुखार सारनाएफको बचाउ गर्दै उनकी वकिलले न्यायाधीशलाई भनिन्, “उनी नै थिए।”

तर उनी आफ्ना दाजुबाट प्रभावित भएको वकिलको भनाई थियो।

मृत्युदण्ड

आरोप प्रमाणित भए २१ वर्षीय सारनाएफले मृत्युदण्ड पाउन सक्ने बताइएको छ।

उनीविरुद्ध बम विष्फोटसम्बन्धी ३० वटाभन्दा बढी आरोपहरु लगाइएका छन्।

सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकी भूमिमा गराइएको यो सबैभन्दा खतरानाक आतंकवादी आक्रमण भएको बताइन्छ।

सन् २०१३ को अप्रिलमा बोस्टन म्याराथनमा गराइएको प्रेसरकुकर बम विष्फोटमा एकजना ८ वर्षीय बालकसहित तीन जनाको ज्यान गएको थियो।

Image caption विष्फोटमा एकजना बालकसहित तीन जनाको ज्यान गएको थियो

२ सय ६० जनाभन्दा बढी घाइते भएका थिए, तीमध्ये अधिकांशले खुट्टा गुमाएका थिए।

दोषी

सन् २०१३ मा सारनाएफले बम विष्फोट गराइएको दिन एकजना प्रहरीको हत्या लगायत आफूविरुद्ध लगाएका सबै आरोपका लागि दोषी नभएको बताएका थिए।

बम विष्फोटमा उनी नै संलग्न रहेको भन्दै बहसको शुरुवात गरेकी सारनाएफकी वकिल जुडी क्लार्कले भने अदालतलाई आश्चर्यचकित पारिन्।

त्यस्तो भनाईबाट बहस शुरु गर्नु भनेको बचाउ टोलीको एउटा रणनीति भएको बताइएको छ, जसअन्तर्गत सारा दोषहरु सारनाएफका दाजुमाथि लगाइन सक्छ।

प्रहरी कारवाहीमा सारनाएफका दाजु मारिएका थिए।

क्लार्कले भनिन्, “हामीहरुले सारनाएफका दाजुले उनलाई बन्दुक भिराएको वा विष्फोटको योजनामा संलग्न हुन बाध्य पारेको तर्क गर्नेछैनौँ तर उनलाई प्रभावित पारिएका प्रमाणहरु तपाईंहरुले सुन्नुहुनेछ।”