टर्किस् विमान हटाउन भारतबाट उपकरण आयो

  • 5 मार्च 2015
उडान रद्द तस्वीर कपीराइट netra kc
Image caption धावनमार्ग नजिकै टर्किस् विमान फसेका कारण अन्तर्राष्ट्रिय आवागमन ठप्प छ

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुखका अनुसार विशेषज्ञहरुको एक टोली त्रिभुवन विमानस्थलको धावनमार्ग नजिकैको चौरमा फसिरहेको टर्किस् एअरलाइन्सको एअरबसलाई हटाउन उपकरणसहित भारतीय एअर फोर्सको विमानमा काठमाण्डू आइपुगेको छ।

त्यसका निम्ति भारतीय एअर फोर्सको हर्कुलस विमान, विशेषज्ञहरु र उपकरणसहित बिहिबार अपरान्ह काठमाण्डू आइपुगेको हो।

बिहानै आउने भनिएपनि सो विमान आउन केही ढिलाइ भएको थियो।

प्राधिकरणका महानिर्देशक रतिशचन्द्र लाल सुमनले भारतीय एअर फोर्सको सो विमान अहिलेको अवस्थामा काठमाण्डूमा अवतरण गर्न प्राविधिक रुपले सक्षम रहेको बताए।

उनले भने, “त्यो विमान छोटो धावनमार्गमा अवतरण गर्न सक्छ, त्यसले एअर इन्डियाका प्राविधिकहरु र उपकरणहरु ल्याउँदैछ।”

उपकरण

उनका अनुसार आवश्यक उपकरणहरु बुधबार राति नै मुम्बइबाट दिल्ली झिकाइएको थियो।

बुधबार बिहान करीब ८ बजेतिर अवतरणको क्रममा टर्किस् एअरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएर नजिकैको घाँसेचौरमा रोकिएर ठूलो दुर्घटनाबाट बचेको भएको थियो।

विमानमा सवार सबै २ सय २७ जना सकुशल छन्।

ठप्प

टर्किस् एअरलाइन्सको एअरबस विमानलाई त्यहाँबाट हटाउने उपकरण नेपालमा नभएकोले भारतबाट मगाइएको हो।

विमानस्थलको धावनमार्गको करीब बीचभागमा टर्किस् विमान फसेका कारण दैनिक औसत ४० वटा अन्तर्राष्ट्रिय उडान हुने त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय आवागमन ठप्प बनेको छ।

बिहीबारदेखि आन्तरिक उडानहरु पनि शुरु गर्ने तयारी भइरहेको अधिकारीहरुले बताएका छन्।